Friday, 8 May 2015

limbu

लिम्बुवान (याक्थुङ लाजे)

पूर्वको त्यो सुन्दर मेरो गाउँ !
चोरी लग्यो कस्ले मेरो नाउँ !!
पाठकबृन्द ! इतिहासकाल देखि स्वतन्त्रराज्यको रुपमा रहन्दै आएको लिम्बुवान भूमी सुधार ऐन बि.स २०२१ सालसम्म आइपुग्दा पूर्णरुपमा निमट्यान्न पारियो । चौथो शताब्दीतिर लिलिमहाङराजाको पालामा लिम्बुवानको सीमाना पूर्वमा टिस्टा, पश्चिममा दूधकोशी, उत्तरमा तिब्बत, दक्षिणमा जलालगढसम्म रहेको थियो । उपत्यकामा ३३ वर्षसम्म किरातीहरुले शासन चलाएका थिए । काठमाण्डौ उपत्यकाको अन्तिम किराती राजा योकनेहाङ पछि राजा लिलिमहाङले उपत्यका छोडी ५२ हजार कुल घराना र सेना लिई नेपालको पूर्वी (हाल लिम्बुवान) प्रस्थान गरि नवौ दिनमा तावालुङ सुसुवादिन पुगेर त्यहीबाट राजधानी बनाई राज्य शासन गरेको थियो । पछिल्लो भिमसेनथापाको पालामा गुरु गगराज मिश्र र चन्द्रशेखर उपाध्यायलाई प्रतिनिधी बनाई नेपालको एकतिहार्इ भूभाग (४०,००० बर्ग माइल) बि.सं. १८७२ पौष सुगौली सन्धिमा बेच्दा धेरैजसो लिम्बुवानको भूभाग दार्जीलिङ, सिक्किम, हुदै टिस्टा नदीसम्म फैलिएको लिम्बुवान खुम्चिएर मेचीमा सीमित हुन पुग्यो । यसरी बृहत लिम्बुवानको नामकरणमा अहिले कति भूभाग नामेट भइसकेको छ । पृथ्बीनारायणशाहको नेपाल एकिकरण अभियानमा सत्रौ पटकको हार पश्चात लिम्बुहरुलाई बि.सं. १८३१ साउन २२ गते लालमोहर प्रदान गरेर सहराज्यको रुपमा रहन्दै आएको थियो । नेपालको इतिहासमा कालरात्रीको उदय जंगबहादुर राणाले बि.सं. १९०१ मा लिम्बुहरुलाई सुब्बा उपाधि दिन्दै सम्पूर्ण राजकीय अधिकार खोस्दै लिम्बुराजाहरुलाई आफ्नो कर्मचारी सरह बनाइदिए । जंगबहादुर राणा पछि चन्द्र शमशेर प्रधानमन्त्री भए पछि झन क्रुरतापूर्बक घर घरमा खानतलासी गर्दै बंशवली, ताम्रपत्र, अभिलेख साथै अनेकौ कागज पत्रहरु चैनपूरमा लगेर जलाए । राणा शासन अबधिभरि सबैभन्दा बढी लिम्बुहरुलाई शिक्षा दिक्षा लिनबाट कडारुपले प्रतिबन्ध लगाइयो । त्यसरी नै पृथ्बीनारायणशाह पछि सबैभन्दा बढी शासन चलाउने त्रिभुवनको बि.सं. २०११ फाल्गुन ३० गते निधन पछि १०१ तोपको सलामी सहित २०११चैत १ गते श्री ५ महेन्द्रको राज्यारोहण भए पछि लिम्बुवानको दुर्भाग्य शुरु भयो । नेपाललाई १४ अञ्चल ७५ जिल्लामा बि.सं. २०१८ साल बैसाख १ गते बिभाजन गरियो । २०१८ भन्दा पहिले ३५ जिल्लामा मात्र छुटयाएको थियो । तानाशाही महेन्द्रले गाउँ पञ्चायत, जिल्ला, अञ्चलमा बिभाजन गर्दै लिम्बुहरुको किपटलाई छताछुल्ल पारी दिए । जनजातीहरुको हजारौ हजार ग्रन्थहरु संगै लिम्बुहरुको बाँकी रहेको लालमोहर पनि भित्रभित्रै किनेर जलाउँन खोज्दा खोज्दै उनैको प्राण-पखेरु उडेपछि थोर बहुत बचेको खुम्चेको भूमी पनि कसैले तमोरपारी, कोही बिराट, कोशी त कोचिला भन्दै बाँडिचूडि लुछाचूडि गर्दै नामेट पार्न बिरालोले घ्यू खाँदा खाँदा घाँटीमा अड्केर घ्यार्र घ्यार्र गरे झै दुस्साह खातीर लिम्बुवानले भोगीरहेछ ।
छन् ति बनजंगल अनकन्टार
छन् कति नदीनाला सदाबहार
हिमाल पहाड तरार्इ गर्दै थुम्का र फाँटहरुले जोडिएको लिम्बुवान
तागेरा निङवाफुमाको ममताले स्वर्गको परि झै सजिएको लिम्बुवान
साँच्चिकै ! लिम्बुवान करौतीको दन्तहरु झै सेताम्यै मनमोहक टाकुराहरुले भरिएको छ । आन्तरिक तथा बाह्रय पर्यटकहरु भित्राउन सक्ने तीन दर्जन भन्दा बढी हिमश्रृखलाहरु लिम्बुवानभित्र रहेको छ । नेपालको दोश्रो अग्लो हिमश्रृखला कञ्चनजंघा ८,५८६ मीटर छ । मानब बस्तिको लागि लिम्बुवान यूगौयूग सम्म पनि मानबपयोगी र लाभदायक हुनेछ । लिम्बुवानमा घना बनजंगलहरु सातलाख भन्दा बढी हेक्टरमा फैलिएको छ । तरार्इमा पुनर्जीबित चारकोसे झाडी, कञ्चनजंघा संरक्षित क्षेत्र, संखुवासभा जील्लाको मकालु, बरुण राष्ट्रिय निकुन्जले अब हरियो बन लिम्बुवानको धन भएर हराभरा हरियाली स्वाच्छता दिएको छ । यीनैबाट हामी जडिबुटी, बातावरणिय सन्तुलन, जैबिक बिबिधता संरक्षण पशुपालन, कृषी, भूक्षय रोकावट, बन्यजन्तु आरक्ष र अक्सिजन प्रशोधन आदि गर्न सक्छौ । एउटा रुखले सरदर २.७ केजी अक्सिजन उत्पादन गर्न सक्छ । त्यसमा एकजना मानिसलाई दैनिक १६ केजी अक्सिजन आबश्यकता पर्छ तर हामी करोडौ संख्याको बृक्षबाट उत्पादित अक्सिजनलाई उचित भण्डारण गर्दै अहिले बिश्वको बढ्दो तापमान पर्यावरण संकटमा बजारमुखि र ब्याबसायीक बनाउन सकिन्छ । अर्कोतिर बाहैमास दुर्इ दर्जन नदीहरु मध्ये कति मूल्यहीन भएर खेर गईरहेको छ । नेपालको सबैभन्दा ठूलो कोशि नदी हिमालय क्षेत्रबाट निस्कने सिन्धु बहमपुत्र पछि बिश्वकै ठूलो तेश्रो नदी पनि हो । यसको जलप्रबाह औसत १५६४ क्यूबिक मिटर प्रति सेकेण्ड र बिधुत उत्पादन २५,००० मेगावाट सम्म रहेको छ भने अर्को बिशेषता चीनको हवाङहो नदी पछि बिश्वको ठूलो बालुवा बोक्ने नदी हो । सप्तकोशिमा मिश्रीत नदीहरु अरुण, तमोर, मेवा, मैवा पिलुवा, सभा, घुन्सा, काबेली, हेवा, माया नदीहरु पर्दछन । अरुण नदी कुम्भकर्णको कोखबाट लिम्बुवान भएर बग्ने लिम्बुवान र तिब्बत गरी सालाखाला ५१३ कि.मि. लामो छ यस्को बिशेषता संसारकै उच्च स्थानबाट बग्ने नदी हो भने यस नदीले बनाएको ४५७ मिटर गहिरो अरुण उपत्यका बिश्वको सबैभन्दा गहिरो उपत्यका पनि हो । तमोर नदी कञ्चनजंघा हिमश्रृखला पूर्बी क्षेत्रबाट निस्कने तमोरको लम्बाई १९८ कि.मि. रहेको छ ।
अन्य लिम्बुवानको बिशेषताहरु :
१. नेपालको सबै भन्दा बढी धान उत्पादन हुने झापा जील्ला लिम्बुवानमा पर्दछ ।
२. नेपालको सबैभन्दा होचो ठाउँ झापा जिल्लाको केचनागल हो ।
३. नेपालको प्रसिद्ध सुन्तला उत्पादन हुने धनकुटा हो ।
४. नेपालको सबैभन्दा लामो झरना ३६५ मीटर हयात्रुङ झरना तेहथुम जिल्लामा पर्दछ । अन्य ताप्लेजुङको टिपताल झरना,फङफुङे झरना ।
५. नेपालको प्रसिद्ध चीया उत्पादन इलाम र झापामा रहेको छ ।
६. नेपालको सबैभन्दा बढी अलैची,चीराइतो,अम्लिसो, अदुवा र्इत्यादी अरबौको नगदेबाली लिम्बुवानमा उत्पादन हुन्छ ।
७. बिश्वमा जापानलाई सुर्योदयको देश भनिन्छ भने नेपालमा इलामको श्रीअन्तुलाई मानिन्छ ।
८. नेपालको पश्चिममा बिन्दु कन्चनपुरको दोधारा हो भने नेपालको पूर्बी बिन्दु झपाको कांकडभीत्ता हो ।
९. बिश्वको ६०० जातको चरा पाइने एउटै स्थान अरुण उपत्यका (संखुवासभा) हो ।
१०.नेपालको प्रसिद्ध गुरांस प्रदेश भनेर ताप्लेजुङ, तेह्रथुम,र संखुवासभामा पर्ने मिल्के जलजले क्षेत्रलाई पर्यटन प्रबर्धनको आकर्षण मानिन्छ ।
नेपालमा पाइने ३२ प्रजातीको गुरासहरु मध्ये २८ प्रजातीको गुरास यी क्षेत्रमा पाइन्छ । बि.स २०१८ साल देखि मान्यता प्राप्त नेपालको राष्टिय फूल लालीगुरांसको बैज्ञानिक नाम (Rhododendron arboretum) हो । यसरी अपार पाकृतिक स्रोत साधनले सम्पन्न लिम्बुवानराज्यलाई हामीले बिश्वकै समृद्ध बनाउनु छ । पर्यटन, ब्यापार, उधोग, कलकारखाना, कृषि, पशुपालन, जडिबुटी, बिश्वअनुसन्धान केन्द्र, खनिज पदार्थ अभ्रख, तामा, फलाम, सून, सीसा, कोइला, फस्फोरस, बहुमूल्य पत्थर र जलबिधुत इत्यादी समग्र लाभांस उत्पादन बाषिर्क खरबौ डलर हुनपुग्छ । यसरी खरबौ डलर हाम्रै आगंन, करेसाबारीमा फलिरहेको छ यी हामी आफैले उपभोग र सदुपयोग गर्नुपर्छ । तर हामीमा चेतना र शिक्षाको अभाब छ । सरकार निरीह र शोषीत छ तिनै बाहुनबादी केन्दिकृत एकात्मक राज्य ब्यबस्थाले बर्षौबर्षदेखि लिम्बुहरु माथि जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक उत्पीडनमा पारेको छ । नेपाल अधिराज्यको संबिधान,२०४७ को भाग ३ मा मौलिक ब्यबस्था र २०४७ धारा १२ मा स्वातन्त्रताको अधिकार माथी सीमान्तकृत गरिएको छ । यी संबिधानमा उल्लेखित ब्यबस्थालाई देखावटी किताबी कोरामा सीमित पारीएको छ । कम्तिमा पनि संयुक्त राष्टसंघले घोषणा गरेको आइएलओ सन्धि पत्रलाई समेत फोहोर-मैलाको टोकरीमा फालिएको छ । हामी आफैमा चेतनशील र आत्मानिर्भर दक्ष जनशक्ति हुन जरुर छ । आफ्ना गाउं आफै बनाउं झै आफ्नो लिम्बुवानराज्य हामी आफैले नबनाए बनाई दिने कस्ले ? पूर्खौदेखि बिदेशको मरुभूमी, समुन्द्रपारी तिर हाम्रो चाप्लुसी र चाकडीको अन्त्य कहिले ? हाम्रो पूर्खाहरुको बाचा कसम र रगतले आर्जेको भूमीलाई लिने कि दिने ? हाम्रो धरातल कहां छ ? हाम्रो सभ्यता के हो ? गहिरीएर ठण्डा मस्तिकले सोचौ लिम्बुवानी भूमीलाई आन्तरिक उपनिबेशबाट मुक्त गरौ स्वतन्त्र लिम्बुवानराज्य स्थापना बनाइ छाडौ ।

limbu

शारीरिक नेतृत्व बाघ र संस्काररित आचरण भेडा

एउटा दन्त्यकथामा भेडा गोठालोले बाघको डमरु भेट्टाएर भेडी गोठमा भेडाहरुसंगै पाले पछि बाघको बच्चा बाघ नभएर भेडा जस्तै भ्याँ .....भ्याँ ....गर्दै घाँस खान थालेपछि भेडा गोठालोले अचम्म मान्दै जिब्रो टोकेछन् । शारीरिक नेतृत्व बाघ भए पनि भेडाको हुलमा भेडाकै आवाज भेडाकै आचरण र घाँस खाने काइदा अगाल्न भेडाको संस्कारले बाघलाई भेडा हुन बाध्य बनाएको ठहर गरेको थियो रे ! यही संस्कारको रित अनुसार डा.स्वामी प्रपन्नाचार्य उर्फ काले रार्इ किराती संस्कारको बिरोध गर्दै भेडाको रुप लिएर किरातीहरुको घाँटीमा जनै भिराउँने पक्षमा आफ्नो विद्धतालाई छताछुल्ल पार्दै आएका छन् । संयोग भनौं एक दिन वानेश्वरको सभा गृहमा डा.स्वामीप्रपन्नाचार्यको "प्राचीन किरात इतिहास" पुस्तकको विमोचन हुँदै गरेको थाहा पाएर टुप्लुक्क पुगेँ । त्यो बेलाको लाहुरे ठिटोलाई त्यस्तो इतिहासकार र बेद्धान्ती सिद्धान्तका ब्याख्याकारलाई भेट्न पाउँनु भाग्य ठानेको हुनु पर्छ । त्यती मात्र नभएर डा.स्वामी प्रपन्नाचार्य द्धारा सम्पादन भएको किरातेश्वर पत्रिकाका केहि अंङकहरु हेर्ने मौका पाएको थिएँ । त्यसमा चित्त नबुझेको वा सत्य कुरा बुझनै पर्ने कुरा के थाँती रहेको थियो भने किरातेश्वर अंङक ३ मा लाल मोहर कुन सही ? शिर्षकमा इतिहासकार इमानसिं चेम्जोङ द्धारा संङकलन भएका लालमोहरहरु जाली फर्जी वा नक्कली हुन भनेर एउटा लेख बारे चित्त नबुझाईको बाँझो जोतिएको थिएन । जुन किरातेश्वर अंङक ३ कै जाली फर्जी लालमोहरलाई "प्राचीन किरात इतिहास"मा समेत समावेश गरिएको रहेछ । यो लेख बारे पाठकहरु स्पष्ट हुनको लागि डा.स्वामीकै शब्दमा लालमोहर कुन सही ? को अंश यस्तो छ । इमानसिंजीले लाल मोहर रोका टोका आदिको पनि संग्रह गर्नु भएको छ । तर काठमाण्डौदेखि पूर्व माझ किरात र लिम्बूवानतिर पाइने लालमोहर प्रष्टरुपले जाली देखिन्छ । यद्यपि इमानसिंजीले घोर परिश्रमद्धारा प्राप्त गरे होलान् । साथै परिश्रमको मूल्य हामीलाई थाहा छ । पाठकबृन्द हैरान हुनुहुन्छ होला । परन्तु साँचो साँचै झूठो झूठै हुन्छ । यसमा आर्श्चर्य मान्ने कुरै छैना । आउँनुहोस,श्री ५ पृथ्वीनारायण शाहले लेखेका पत्र र लालमोहर हेर्नुहोस । काठमाण्डौंदेखि पूर्व नेपालमा शाहका विरुदावली शमशेरजंगदेवानाम पाइन्छ । यसमा शमशेर पहिला भए कि जंग पहिला भए ? इतिहास जंग पछि शमशेर भएको देखिन्छ । साथै जंग र शमशेर पृथ्वीनारायण शाहभन्दा पहिला थिए कि ? पछि भए ? यी प्रश्नहरुको उत्तरमा अवश्य घोरिनु पर्ने छ । सही कुरा श्री ५ पृथ्वीनारायण पछि जंग भएको हो । त्यसपछि शमशेर जन्मिए । अनि कसरी श्री ५ पृथ्वीनारायण शाहका विरुदावलीमा शमशेरजंगदेवानाम जोडिए ? अतएब भन्न कर लाग्छ कि इमानसिंजीले प्राप्त गर्नु भएको लालमोहर जाली फर्जी छ । विज्ञ पाठकबृन्दले यी पत्र लालमोहरहरुमा घोरिएर हेर्नु हुनेछ । श्री ५ पृथ्वीनारायण शाहले बि.स. १८११ मा रणरुद्र शाहलाई पत्र लेखे । बि.स १८१२ मा हरिदेव पण्डितलाई र जमदग्नि उपाध्यायलाई लालमोहर सहित पत्र लेखेका छन् । बि.स १८१४ मा कान्तिपुरको राजा जयप्रकाश मल्ललाई धर्मपत्र लेखिदिए । बि.स १८१६ मा धनदत्तलाई पत्र लेखेर संम्झाएका छन् । बि.स.१८१८ मा गिनदुनप पावा लामालाई लालमोहर पत्र लेखिदिएका छन् । बि.स १८२१ मा ज्ञानकर वाँडालाई लालमोहर पत्र लेखेका छन् । बि.स १८२४ मा देबु राना (मगर) लाई लालमोहर पत्र गरिदिएका छन् । बि.स १८२८ को लाल मोहर पत्र आदिमा "शमशेरजंगदेवानाम" पद विरुद्धावलीमा छैनान् । अतः काठमाण्डौंदेखि पूर्व अथवा नेपालभरी मै "शमशेर र जंग" भएको लाल मोहर जाली नैं ठहरिनेछ । ठहरिएन भने श्री ५ पृथ्वीनारायण भन्दा पहिले नैं शमशेर र जंगको उदय भैसकेको थियो भनी भन्नु कर लाग्छ । यस परिस्थितिमा साँचो झूठोको केलाई निफनाई हुनै पर्छ । उक्त माथिका हरफहरुले पूरानो लाल मोहर संङ्कलन गर्ने गोर्याटोमा घिसारी रहेको थियो । यदी त्यस्ता पूराना लाल मोहरहरु संङकलन गर्न सकियो भने कित झूठो इतिहास लेख्ने इमानसिं चेमजोङको मुकुण्डो फुश्किन्थ्यो हैना भने डा.स्वामी प्रपन्नाचार्यको धुर्त बेद्धान्ती सिद्धान्तको धोती खुश्किन्थ्यो । हाल पक्तिकारसंग करिब दर्जन जति लालमोहरका नक्कलहरु संङकलन भएका छन् । यसमा श्री ५ पृथ्वीनारायण शाहका पालादेखि उनका नाति रणबहादुरशाह संम्मका रहेका छन् । यसमा "गोरखा मगरहरु बिगत देखि वर्तमान संम्म ऐतिहासिक पृष्टभूमि एक विश्लेषण २०५४" बि.के राना मगरद्धारा लिखित पुस्तकमा संङकलन भएका लाल मोहरहरुले पनि पृष्टि गर्दछ कि को भेडा हो को बाघ हो । सत्य कुरा १० जनवारी १७७५ मा पृथ्वीनारायणका चोला उठ्नु ३ बर्ष ९ महिना अगाडि उनका समकालीन भारतका मुगल बादशाह आलम द्धितीय (१२ मार्च १७७१) का फर्मान अनुसार उनलाई "महाराजा र बहादुर शमशेर जंग"को पदवी लेखी पठाएका थिए । त्यही फरमान अनुसार सन १७७१ देखि उनका राजकिय पत्रहरुमा श्री श्री श्री महाराजे पृथ्वीनारायण शाहबहादुर शमशेर र पहिलेका अरु उपाधीहरु पनि लेखिन थालेको थियो । यो इतिहासलाई सन १९६७-१९६९ बाबुराम आचार्यद्धारा लिखित श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी भाग ४ पृष्ट ७११-७१२ मा सोही तथ्य नेपालको वैधानिक परम्परा -ले (जगदीशचन्द्र रेग्मी,सन १९७९ पृष्ट २१७) नामक पुस्तकमा उद्धरण समेत प्रकाशीत भएको थियो । ती ऐतिहासिक सन्दर्भको ब्याख्याका अतिरिक्त उपरोक्त नयाँ विरुदावली समेत जम्मा गरेर चलनमा चलाइएका लाल मोहर (सन १७७३) को नक्कलहरु संङकलन रहेका खोजी मूलक ग्रन्थहरु पनि प्रकाशित भएका थिए । निरुक्त बि.स.२०४० पृष्ट २०३, गोरखाको इतिहास दोश्रो भाग बि.स.२०४३, पृष्ट ५३२, आदि । तर सृष्टिको आदिकाल देखि नैं आर्य बेद्धान्ती इतिहास मात्र सत्य हो भन्ने र त्यही इतिहास पढाउँन लागि परेका डा.स्वमी प्रपन्नाचार्यले ४० बर्षसम्म (भूमीका अनुसार) प्राचीन इतिहासको खोजी गर्दा पनि ती ग्रन्थहरुमा आँखा नपर्नु पाठकहरुको लागि ज्यादै दुःखको कुरा हो । डा.स्वामी प्रपन्नाचार्य किन आफ्नो वेद्धान्ती अध्यनलाई अब्याबहारीक र किराती इतिहासलाई झुठो सावीत गर्न सत्य इतिहासका थुम्काथुम्कीहरु भत्काई रहन्छन् । त्यहाँ एउटै कारण मात्र छैना । पालन पोषण,शिक्षा,दिक्षा,संस्कार,संस्कृति र आचरण समेत ब्राम्हृणबाट भयो । आफ्नो सम्पूर्ण जीवन भेडी गोठमा हुर्कियो बाघ कसरी गर्जनु पर्छ बाघले कसरी सिकार गर्नु पर्छ भन्ने पाठ कतैबाट नपाए पछि अरु बाघहरुलाई पनि भेडा बनाउँन आफ्नो विद्धतालाई खर्च गर्न पुगे । अरुको धज्जी उडाउनु र झूट्टो इतिहासको राग अलाप्नुमा स्वामी प्रपन्नाचार्यको ज्ञान खर्च हुन पुग्यो । उनले ४० बर्ष लगाएर लेखेको प्राचीन किरात इतिहासमा किराती इतिहासको पर्खाल उभ्याउँनु सट्टा पर्खालको ठाउँ ठाउँमा पर्खालका ढुङगा माटोहरु झिक्न आत्तुर देखिन्छन् । हुन सक्छ उनको अन्तिम इत्छा त्यो पर्खाल भत्कोस र किरातीहरु सबैले एक दिन जनैको दाम्लो भिरोस र उ जस्तै भेडा भएर बाँचुन । नत्र किन वेद्धान्ती विद्या आर्जन गर्ने विद्धानले रहस्यात्मक पाराले गोपनीयतामा राखिएको ऋग्वेदका ऋचाहरुलाई जन समक्ष समिक्षा गर्दैनन् । जस्तै - Racial Discrimination को पुरुषसुक्त मुल मन्त्र -
ब्रम्हृाणेश्यक मुखामासित वाहुराजन्योक कृत ।
उस्क तदस्या क याद वैश्य पदम्यम् शुद्रक अजायत ।। (ऋ १०/९०/१२)
यो मन्त्र प्रकृतिको नियम विरुद्ध हुनुको साथै हिन्दुवादको चारवर्ण सामाजिक ब्यवस्थामा एउटा ब्राम्हृणले पाएको सुविधामा क्षेत्रीले दावी गर्न पाउँदैन । एउटा क्षेत्रीले पाएको सुविधामा एउटा वैश्यले दावी गर्न पाउँदैन भने वैश्यले पाएको सुविधामा शुद्रले दावी गर्न सक्दैन । किन भने हिन्दुवादमा सामाजिक जीवन आदर्शको मापदण्डमा समानता पाइन्दैन । यस्तै अरु कैयौं मन्त्रहरु छन् ।
शुद्र चतुर्थो वर्णास्तु सर्वसंस्कार वर्जितः
भावार्थ - शुद्र चौथो वर्णमा परेकोले कुनै शिक्षा दिक्षा नदिनु । (विष्णु स्मृति १/२५)
वेदाभूषः श्रण्वतन्त्र शुद्र तुभ्यां प्रतिपुरणः ।
श्रुत्रःजिब्हछेदःधारणे शरीरभेदः ।।
भावार्थः- शुद्रले वेद पढे जिब्र्रो काटिदिनु सुने शीसा पगालेर कानमा हालिदिनु ।( गौतम स्मृति-१२)
तस्माद शुद्र समिपे चाः नाध्यत कदाचनं
भावार्थः- शुद्रको छेउमा वेद नपढनु र असल कुरो नभन्नु । (वशिष्ठ स्मृति- १८)
यस्ता हिन्दु ब्राम्हणवादीहरुबाट सिर्जना गरिएका ऋग्वेदका अमान्य ऋचाहरुमा भने आँखा चिम्लेर इतिहास सम्मत सक्कली लाल मोहरलाई नक्कली लाल मोहर हो भन्न सर्माउँदैनन् । किरातीहरुलाई क्षत्रीय बनाउँन र आर्यहरुको पिछलग्गु भई रहन उत्प्रेरित भई रहन्छन् । शायद उनको मान्यता उनी बाहेक अरु किराती बर्गमा पर्ने इतिहासकार,विद्धान,बुद्धिजीवी र लेखकहरु नङग्रा र दाँत नभएका बाघ हुन उनीहरुमा हिन्दु दर्शनको दृष्टान्तिक ज्ञान छैन । उनीहरुको खोज अनुसंन्धान झूठो हुन्छ । जसरी इमानसिं चेमजोङले संङकलन गरेका सक्कली लाल मोहर जाली फर्जी हो भनेर ६४८ पृष्टको प्राचीन किरात इतिहासमा समेत झूठको खेति गर्न बिर्से। तर जति नैं बकवास र ऋग्वेदिक शब्दको जलप लाएर झूट्टो इतिहासलाई साँचो बनाउँन खोजे पनि अबका पाठक पाठीकाहरु त्यती सजीलै मूर्ख बन्नेवला छैनान् । अहिलेको सन्दर्भमा वेद्धान्ती पण्डा डा.स्वामी प्रपन्नाचार्य किरात बारे झूठो इतिहास,झूठो लाल मोहर र किराती इतिहासलाई आर्य बनाउँने पक्षमा मात्र लागी परेका छैनान् । जनै भिराउँने विशाल यात्रामा अघि बढेका छन् । तर उनलाई थाहा छैनाकि बि.स १९९० सालमा (जङ्ग बहादुरको पालामा) जारी गरिएको मुलुकी ऐनमा प्रष्ट लेखि सकिएको छ । "अब उप्रान्त कसैले पनि जनै दिन्या या झिकन्या नगर्नु" यस कानुनले के देखाउँछ भने त्यस वेला कुनै पनि ब्याक्तिलाई जनै दिन र झिक्न सकिन्थ्यो । त्यसैकारण "कुवर राना" मगरहरु राणा क्षेत्री बने भने भीमसेन थापा मगरलाई क्षेत्री बनाउने काम गरियो । पृथ्वीनारायण शाहको पालामा पूर्वका लिम्बूहरुलाई एक डोको जनै पठाएर तिमीहरु क्षेत्री हौ भन्दा लिम्बूहरुले ठाडै अस्विकार गरे । केहि कुल घरानाका लिम्बूहरुले सो कार्य गरे तर समाजबाट बहिस्कृत भए पछि फेरि लिम्बू संस्कृति नैं अगाल्न पुगेका थिए । यसरी हिन्दुवादीहरुले आफ्नो स्वार्थ अनुकुल मनुस्मृतिलाई ब्याख्या र लागु गदै आएका छन् । पछिल्लो पटक उनै मनुस्मृतिका हिमायती पं.छविलाल पोखरेल र डा.स्वामी प्रपन्नाचार्यले गैर आर्यहरुलाई जनै भिराउँने र किराती इतिहास अपब्याख्या गर्ने कार्य गदै आएका छन् । डा. स्वामी जनै भिराउँने कार्यमा मात्र लागी परेका छैनान् । किरात संम्बन्धी ऐतिहासिक दस्तावेज र इतिहासलाई बङग्याउँने खण्डन गर्ने झूठो सावित गर्ने र जसरी हुन्छ बाहुन शैलीमा ढाल्ने प्रयत्न गरेको बुझिन्छ । इतिहासकार इमासिं चेमजोङद्धारा संङकलित लाल मोहरलाई झूठो र जाली फर्जी भनेर ब्यापक बनाउने कार्य ढाँट संस्कृतिको दर्पण हो । उनले विद्धत्व प्राप्त गरेको ग्रन्थहरुमा भनौं प्रपन्नाचार्य हुर्केको संस्कारमा तिनै झूठको खेतिले आकाश धर्तीको निर्माण गरेको छ । उनको शारिरीक नेतृत्व बाघ भए पनि ब्राम्हृणवादी चिन्तनप्रति आफै गोबर गणेश बनेका छन् -उनकै शब्दमा (प्राचीन किरात इतिहास) । भदौमा आँखा फुटेको गोरुले संधै हरियो देख्ने गरे झैं सबैतिर हरियो इतिहासको जग खन्दैछन् । इतिहासकार इमानसिं चेमजोङद्धारा संङकलित लाल मोहरलाई मात्र झूठो देख्दैनन् । धुर्त बिद्याधारी द्रोणचार्यको गुरु दक्षिणाले अपाङग भएका किराती एकलब्यलाई पनि क्षेत्री भन्नु हुन्छ । राम्रो ब्याबहार,चालचलन,सभ्यता सिके पछि द्धिज,ज्ञान गुन अध्यन-चिन्तन,सम्पूर्ण चराचरमा सबैको महात्व राख्ने,समभाव राखेर इन्द्रिय,विद्रोह,गर्ने,धैर्यवान,क्षमावान,पृथ्वीको पर्यावरण नदी,पहाड बनको रक्षा गर्ने काममा नित्य लागि पर्ने ब्याक्ति ब्राम्हृण कहलिन्छ भन्ने कुरा ब्राम्हृणवादी इन्साइक्लोपिडियामा उल्लेख गरिएको छ । तर उनै ब्राम्हृणवादी चिन्तनमा लागेका डा.स्वामी प्रपन्नाचार्य सरासर झूठो लेख्छन् उनै ब्राम्हृण चिन्तनमा लिप्त भएका परामाशक्ति इश्वर मानिएको रामले वेद पढेर ज्ञानी हुन चाहेकै निहुँमा शुद्र शम्बुकको टाउको गेंडछ । शायद तिनै वेद्धान्ति फरमुला अनुसार प्रपन्नाचार्यले पनि किराती विद्धान,इतिहासकारहरुबाट लिखित इतिहास किराती लोक गाथा र कथामा आधारित श्रुतिपरम्पराहरुलाई झूठो बनाउँने भेडीको राग अलाप्दै आएका हुन् । उनले प्रपन्नाचार्य त गरे तर त्यो वेद्धान्ति विद्या कस्तो गँजडी गफ हो शायद उनले अझै संम्म आफैलाई राम्म्ररी ठम्याँएका छैनन् ।
सर्वेषां तु विशिष्टेन ब्राहृमणेन विपश्चिता ।
मंत्रयेत्परमं मंत्रं राजा षाङगुण्यसंयुतम ।।-मानवधर्मशास्त्र,अ.७,श्लोक ५८
अर्थात,मन्त्रिमण्डल गठन गर्दा उच्च ब्राहृमणकुलमा जन्मेका,वंशपरम्पराका,शास्त्रहरुको ज्ञान भएका शूरा तथा कुशल ब्राहृमण ७ जना (भिष्मका अनुसार ३५ जना) लाई राजाले मन्त्री बनाओस । यसरी हिन्दुधर्मशास्त्रहरुले एकतर्फब्राहृमण जातिलाई धार्मिकसत्ताको तानाशाह र उसलाई राज्यसत्ताको पनि हिस्सेदार तुल्याई सर्वसत्ताधारी,सामान्य कानुनभन्दा माथि (कानुनले नछुने स्थान) राखेका छन् । अर्कोतर्फ शुद्रवर्गका मनुष्यहरुलाई चाहिँ पशुभन्दा तल्लो "अछुत" (अस्पृश्य) दर्जामा राखी अमानुषिक दण्ड सजायका साथै शोषण र दमनको सिफारिश गरेका छन् ।
ब्राहृमणलाई धर्म वा कर्तब्य सिकाउँनेको मुख र कानमा उम्लदो तेल खन्याई दिनु । (मनु ८।२७९)
यत्र नार्यस्तु पुज्यन्तेरमन्ते यत्र देवता ।
भन्दै स्वास्नीलाई खुट्टाको पानी खुवाउँछन्
ब्रम्हणवादीहरुको चिन्तनले कति संम्म हास्यास्पद र गलत धारणको विकास गर्‍यो भन्ने यर्जुवेदको निम्न ऋचाले स्पष्ट हुन्छ ।
"शिवांगान् प्रच्युतं रेतः पतितं धरणी तले तदेव पारदं जातं"
भावार्थ - शिवजीको अंगबाट एक समयमा पृथ्वीमा बीर्य खस्यो र त्यही बीर्य पारो भएको हो । भाव प्रकाश । यस्तै मनाव सृष्टि वारे नपत्याउँदो ऋचाहरु यसरी जोडिएका छन् ।
जाति ब्रम्हृमण इति चेत तहीं अन्य जातौ समुद्भवा बहवो महर्षयः सन्ति । ऋष्श्रृङ्गो मृग्यां जातः कौशिक कुश्स्तवात् गौतमः शशपृष्ठे वाल्मीकिः वल्मीक्यां ब्यासः कैर्वत कन्यायां पराशरस्चाण्डालीगर्भोत्पन्नः वशिष्ठो वेश्यानां विश्वामित्रः क्षत्रियाणां अगस्तयः क्ल्साज्जातः मांडब्यो मांडुकि गर्भोत्पन्नः मातंगो मातंगीपुत्रःअनुचरों हस्तिनी गर्भोत्पन्नः भरद्धाजः शूद्री गर्भोत्पन्नः नारख दासीपुत्र,इति श्रूयत पुराणे ।तेषां जाति बिनापि सम्यग् ज्ञानविशेषाद् ब्राम्हृणत्म्य स्वीक्रियते तत्माज्जात्या ब्राहृमणे न भवत्येव । भागवत पुराण(ब्यास)
भावार्थ -यदी जातिबाट ब्राहृमण हुने भए त धेरै महर्षिहरु भिन्न भिन्न जातिमा उत्पन्न भएका हुन । ऋषिश्रृंग जसले राजा दशरथबाट पुत्रेष्टि यज्ञ गराए थे, हरिणीबाट, बाल्मीकि धमिराको माटोको ढिस्कोबाट,ब्यास केवट (माझी) केटीबाट, पराशर चाण्डाल्नीबाट, वशिष्ट वेश्याबाट, विश्वमित्र छेत्रेनीबाट,अगस्य घैटोबाट,मांडब्य मांडुकीबाट,मातंग मातंगीबाट, अनुचर हथिनीबाट,भरद्धाज शुद्रीबाट र नारद चाहिँ दासीबाट उत्पन्न भएका हुन ।यस्तै कुरा पुराणहरुमा सुनाइन्छन् । यी महर्षिहरुको ब्राहृमणत्व,जातिबेगरै पनि उत्तम ज्ञानविशेषको कारण भलिभाँति स्वीकृति भएको हो । अतः जातिबाट ब्राहमण हुँदैन । यही भएर वेद्धान्ति सिद्धान्तकार भएर काले र्राई डा.स्वामी प्रपन्नाचार्य भए । माटोको ढिस्को,धमीराको गोला र घैटोमा जन्मेको ऋचाहरुको स्तुती गाउँदै जनैको डोरो समाउँनमा स्यावासी बटुल्नमा तन्लीन प्रपन्नाचार्यले यस्तो विक्षुब्धकारी पूर्वाग्रही लेखनको विरुद्धमा विरोध गर्दैनन् । बरु हिराले हिरा काटे झैं किराती इतिहासकार र विद्धानहरुले जे बोले त्यसको ठिक विरुद्धमा आफ्नो अभियान जारि राखेका छन् । त्यही अभियान अर्न्तगत इतिहासकार इमानसिं चेमजोङको कठोर परिश्रमले जम्मा गरेको लाल मोहरहरु नक्कली भएका छन् । डा.स्वामी प्रपन्नाचार्यको बकवास सत्य हो वा झूठो हो पाठक पाठीकाहरुले छुट्यानु पर्ने भएकोले संङकलन गरिएका मध्ये दुइवटा सक्कली लाल मोहर सहित (फोटो कपी) अनुवाद गरिएको छ ।


पूर्वबाट संङकलीत भएका लाल मोहर जाली फर्जी भनिएकोले शुरुमा पश्चिम नेपालमा पाइएको श्री ५ पृथ्वी नारायण शाहले दिएको लाल मोहरलाई अनुवाद गरिएको छ ।प्रस्तुत माथिको लाल मोहरको पूर्ण पाठ - स्वस्तिश्री गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत श्री मन्महाराजाधिराज श्री श्री श्री महाराजे पृथ्वीनारायण साह बहादुर समसेरजंदेवानां सदा समर विजयीनाम ।। आगे सुरसिंराना तथा कालुषड्काके दलाल एक र्इजाराभित्र पर्‍याको भन्सार १ पुरानु टुसाल १ येति तिन रकम बाहेक अरु सब ६तिसै रकम ज्या (जो) छ सवमेटि सहर भादगाउँको अमालि वक्सिउँ आफ्ना खातिर जम्मा संग अमलभोग्य गर,सहरको बन्दोबस्त गर्नु प्रजा बसाउँनु,सहर आवाद गरि जमाउँनु जाँइ विजाँइ पर्‍या,न्याय निरोपन गरि सर्कार विन्ति गरि मामला तोड्नु,कसैले विजाँइ गर्या,विन्ति गरि तम्चि गर्नु गरिवक्सिउँ । इति संवत १८३० कार्तिक वदी ५ रोज शुभम् । (ले-बि.के राना मगर -गोरखा मगरहरु पृष्ट ४४)
इतिहासकार इमानसिं चेमजोङद्धारा संङकलित र डा.स्वामी प्रपन्नाचार्यले नेपालको पूर्व लिम्बूवानमा पाइएको लाल मोहरलाई जाली फर्जी भनी प्राचीन किरात इतिहासमा समेत समावेश गरिएको यो लाल मोहरलाई फोटो कपी सहित अनुवाद गरिएको छ । यो लाल मोहर नेपाल एकिकरण गर्नको लागि पृथ्वी नारायण शाहले लिम्बूवानका मुख्य रायहरुलाई बि.स १८३१ श्रवण २२ गतेमा दिइएको हो । लाल मोहरको पूर्ण पाठ निम्न अनुसार छ -



स्वस्ति श्री गिरिराज चंक्रचुडामुणी नर नर नरयेनि त्यादि विविद विरुदावलि विराजमांन मंमत श्री मंमाहाराज धिराज श्री श्री श्री माहाराज्ये पृथ्वीनारायणी साहा बाहादुर स्यांमस्येर जंङदेवनाम समर विजयेनाम स्वास्ति श्री आगे राजभोरका सामर्थ श्री श्रीसुंन राई श्रीकुंम राई श्रीजंङ राई अरु सबै गैहा लिम्बू राईके पूर्ण मोहोरका पत्रम यथोचित उप्रान्त मिल मिलंमतंम यहाँको लागि ताहालाई कुल चाहियो मेरो धर्म मंन भलो छ तिमीहरु हिजु पनि पिछा बक्सेको हौं तिम्रा मुलुक हाम्रा प्रतापले तिमी तुंतुतुंम्मांहां याहां संन्तांन हारयौ र त्यो मुलुक हाम्रो भयो तापनि तिमीहरु हाम्रै छौ तिंम्रा जहाणको पिछा हामीले लिञ्यूं जजस्को ज्ये तंम्रा खैन पैन र लुंबांगड सिंवांगड असुधलाई सव खत वात सभासुध गरीखानामा हिजुको तिम्रा मुलुक भित्रको सबै थामी बक्सौं तिमीहरु हांम्रा भरदारसंग साँमेल रहौ र मद्धत सघाई हिजु आँपै आँप आँपुगी बसी आये बमोजिम त्यो मुलुक संभार गरी जिमी भूमी रहंज्यालतिंम्रा साखा संन्तांनतंक्क भोगे गर अरु नौलाख र येकपटि तिमीहरु हौना क्ये अर्थले भने अरु राजा मासिने हुदा तिमीहरु राजा नैं भन्ये नमासिने हौ यो तिमीहरुको निति हामीले जानेको छ तर कुराको विस्तार तिंम्रा नाभीमा बसेकोले तिंनले गर्यो सुख्मिंको र हाम्रो घर नभयाको हो हाम्रो भलो मानिस र चौधरिले बोल कुरा गरी गरी गयेको छ उनैबाट कुराको विस्तार बुझयौंला मिलि तिमीहरुको आँपै आँप आँपुगी खैँन पैँन माथी लेखेवमोजिंम जिमीं भूमि जानी चलंन गरी खानु हामीले खोसी मांस्ये मानी पूजी ल्याएको देउताले हाम्रो राजकाज भंङ नासोस भन्या ताँम्ब्राँ पत्र वाचाको तंसली मुलुको लालमोहर वाधी माथी लेखिन्ये लिम्बू कुल भाईलाई दिञ्युं इतिसम्बत १८३१ साल मिति श्रावण सुदि २२ रोज २ वार मुकांम कान्तिपुर राजधानि सुभये स्वम .........................
पृथ्वी नारायण शाहद्धारा बि.स १८३१ श्रावण २२ गते लिम्बूहरुलाई दिइएको लालमोहर । माथिका यथेष्ट प्रमाणहरु र सत्य कुराहरुलाई पनि ढाक छोप गर्दै झूठोसावित गर्न खोज्नु ब्राम्हणवादीहरुले गैरब्राम्हण प्रतिभाहरुलाई उठ्न नदिनु हो । आफै उठेकाहरुलाई पनि घोर तिरस्कार गरी विस्मृतिमा धकेलिदिएका इतिहास उल्लेख गरि साध्य छैना । छुट्टै ग्रन्थ नैं तयार गर्नु पर्छ । इमानसिंद्धारा संङकलीत लालमोहरलाई लाञ्छना लाग्नु पनि त्यसैको नमुना हो । युग -युगमा गैहृ ब्राम्हण विभूतिहरु नेपालमा अवतरित नभएका होइनन् तर यहाँका राज्य सत्ताभारी क्षत्रिय र धार्मिक सत्ताधारी ब्राम्हण बर्गको मिलेमतोमा "ब्राम्हण" मात्र महामानव,जननायक,राष्ट्रिय विभूति,विद्धान,इतिहासकार हुन्छन् भन्ने देखाउँन गैरब्राम्हण प्रतिभाहरुको मुल्याङकन गर्न हिचकिचाउँछन् । यही ब्राम्हणवादी शैली अपनाएर डा.स्वामी प्रपन्नाचार्यले पनि इतिहासकार इमानसिं चेमजोङले संङकलन गरेका लाल मोहरहरुलाई जाली फर्जी भनेर आफ्नै विद्धता प्रदर्शन गरेका छन् । तर फलामको मूर्तिलाइ सुनको जलप लाएर २,४ दिन सुनकै मूर्ति भनिए पनि अन्त्यमा त्यो फलाम नैं ठहर्छ । त्यो जाली फर्जी लाल मोहरको सन्दर्भ पनि उक्त माथिकै भनाई झैं भएको छ । ४० बर्ष लगाएर संङकन गरेको इतिहास कहाँसंम्म सत्यताको तौलमा छ भन्ने कुरा एउटै लेखले स्पष्ट गर्दछ । अर्को शब्दमा पूरानो ब्राम्हणवादी चिन्तन र सोंच कहाँसंम्मको उत्पिडक र अभिजाति छ भन्ने कुरा वेद पुराण र मनुस्मृतिका ऋचाहरुले आफै गजवसंग बोलेका छन् । त्यही ढाँट छलकपट कुराको वेद्धान्ति विद्धान डा.प्रपन्नाचार्यले पनि जाली फर्जी लाल मोहर भनेर सिकेकै जाली सुत्र लागु गरेको हो भन्न सकिन्छ । यि माथीका दस्तावेज इतिहास र लाल मोहरहरुको अध्यनबाट पाठकहरुले मनन् गर्नु हुने नैं छ को महाजाली हो ? कस्ले सक्कलीलाई नक्कली हो भनेर झुठो इतिहासको बिरुवा उर्मादै छ । अरुको धज्जी उडाउँदा आफ्नो विद्धताको धोती फुस्के पछि र्सबाङग देखाउँन लाज लाग्छ कि लाग्दैन ? डा.स्वमी प्रपन्नाचार्यलाई थाहा भएको हुनु पर्छ । ब्राम्हणवादी शामन्त इतिहाकारहरुले अहिले मात्र यसरी शब्दको जाल बुनेर फुटको खेति गरेका होइनान् । युगौं अघि देखि ढाट्ने काम शुरु गरेका थिए । एउटा उदाहरणलाई मनन् गरौं । राजकुमारी भृकुटी (खुचुन) को विवाह तिब्बती राजा श्रङचङगम्पोसंग भएको थियो । नेपाल जोगाउँन भोटमा विवाह गरेर पुगेकी भृकुटीले नेपालबाट अक्ष्योभ्मय मैत्रय र ताराको बुद्धमूर्ति ल्हासामा लगी स्थापना गरेकी थिइन । त्यहीबाट तिब्बतमा बौद्ध परम्पराको शुरुवात भएको विश्वास गरिन्छ । अर्कोतिर शामन्त ब्रामहणवादी इतिहासकारहरु लेख्छन् । भृकुटीको बाबु अंशुबर्मा हिन्दु थिए । यस्तो इतिहासलाई कसरी पत्याउँने ? १८ बर्षी छोरी भृकुटी बुद्धिष्ट हुने तर बाबु भने हिन्दु हुने ? त्यो पनि राज घरानामा ? बाहुन इतिहासकारहरुले यस्तै धुत्याई र फट्याईका कुरा लेखेर आफ्नो ब्रम्हणवादी चिन्तनमा मल हाल्दै आएका छन् । त्यही मल हाल्ने काममा डा.स्वामी प्रपन्नाचार्य पनि एक कदम अघि बढेर लागेका छन् । ब्राम्हणवादी सोंचाईका इतिहासकारहरुलाई त्यतीले नपुगेर किरातकालीन किराती मूर्ति विरुपाक्षलाई ब्राम्हण पुत्र भनियो । किरातीका किरातेश्वर पशुपतिनाथलाई हिन्दुहरुको मात्र भनेर पेडेण्ड लिन लागि परेकै छन् । शायद यही झुठो ब्राम्हणवादीहरुको सोंच र चिन्तनलाई बुझेर जोसमनी सन्त ज्ञानदिलले ब्राम्हणवादीहरु प्रति यस्तो सवाई कथ्न पुगे ।
पशुघात आफै गर्छन् ब्राहृमण जाति
पत्थरमा सिंन्दुर घसी चढाउँछन् पाती ।।
भान्सामा बाख्री पाक्यो धोती पाटा फेर्छन
सुझ न बुझ उसै बकबाद गर्छन् ।।
यसरी यो देशको सत्तामा ब्राम्हणवादीहरु संधै Legitimizer (वैधता प्रदान) गर्ने जात भएपछि आफ्नै पक्षमा इतिहासको मसी खर्ची रहेका छन् । सक्कलीलाई नक्कली र जाली फर्जी भनेर हुँकार गर्नु पनि त्यही ब्राम्हणवादी रागमा लिप्त हुनु हो । डा.स्वामी प्रपन्नाचार्यले त्यो चिन्तनको लयमा राम्ररी तबला बजाएका छन् । हेरौं इतिहासले उनको इतिहास लेखनलाई कसरी धुन हाल्दै जाँदो रहेछ । नेपालको इतिहासमा यस्तो गजडी ढाँट इतिहास खोज्न थाल्यो भने ठूलै चाङ लाग्छ र भनी साध्य र लेखि साध्य छैना । त्यही लेखि साध्य नभएको ढाँट इतिहासको डोरोमा झुण्डिएर डा.स्वामी प्रपन्नाचार्यले संस्कृत भाषामा लेखिएका महत्वपूर्ण ग्रन्थरत्नहरुको अध्यन,अनुसंन्धान तथा विश्लेशण गरी नेपाली समाजको धर्म संस्कृतिको सम्वर्दन तथा रक्षा गर्ने उपायको खोजी गर्नु पर्ने आजको आश्यकतालाई विर्से बाहुनवादी चिन्तन र सोंचलाई नैं सर्वोपरी ठान्दै तिनै ग्रन्थलाई पवित्र,अकाट्य र अपौरुषीय ठानेर अक्षरसः पालन गर्ने लिढे ढिपीमा पोख्त हुँदै किराती इतिहासमा गर्व र किराती हु भन्ने गौरव गाथालाई निमट्यान्न बनाई खाडलमा पुर्दै रमाएका छन् । इतिहासकार इमानसिं चेमजोङको त धर्ज्ज उडाए उडाए अन्य किराती विद्धान इतिहासकार किरात संम्बन्धी चासो राख्ने पाठकहरुको अभिमतसंग डा.स्वामी प्रपन्नाचार्य ठिक उल्टो पाटोमा उभिएर टक्कर लिन्छन् । किराती समुदायले जुन कुरोको सहि वकालत गर्छन् त्यो डा.स्वामी प्रपन्नाचार्यको विपरित रथको पाग्रा भएर गुडिरहेको हुन्छ । उनको भेडीको रागमा कुनै भिन्नता आउँदैन् ।
भौतिकवादी लेखक र साम्यवादी विचारधाराका साहित्यकार मोदनाथ प्रश्रीत आदिआर्य बारे लेख्छन् । गोरो,अग्लो तथा शूरो हाम्रो जातीय गौरव
हामी संसारमा सारा जातिमा श्रेष्ठ आर्य हौं ।
काला,नेप्टे,लुरे,फुच्चे सबैलाई जितीजिती
धपाएर नयाँ ठाउँ खोस्ने हाम्रो परम्परा ।
.........लड्ने लुट्ने,लखेट्ने त यो हाम्रो अधिकार हो
यस्तो सून्दर पृथ्वीमा गोरो नैं बाँच्नु पर्दछ
"काला" कलंक धर्तीका हुन,सारा मास्नु पर्दछ ।.
......के पीर - बीर हौं हामी कि मछौं युद्ध भूमिमै
कि जितेर लिइछाड्छौं" बीरभोग्या बसुन्रा ।
महाकवि लक्ष्मी प्रसाद देवकोटा समेत आर्य सोंच र चिन्तनमा मुछिएका छन् । उनी लेख्छन् । बृक्ष,वन,घाट,नदी समेत आर्य रे ! (महाकवि लक्ष्मी प्रसाद देवकोटाको वन कुसुम) युगौं युग अघि जङ्गलको आवादी गरी आदीबाशी भएका मान्छेहरुको संम्बन्ध यो धर्ती माटोसंग पूरानो संम्बन्ध र इतिहास हुन्छ कि ? उत्तर वैद्धिककालमा यज्ञ- याज्ञादि र धार्मिकपूजा पाठ गर्ने ब्राम्हणहरु कालान्तरमा लखेट्टीए पछि विन्ध्या पहाड र उत्तरहिमालतर्फआईपुगेकाहरुको यो धर्ती माटोसंग नजीकको संम्वन्ध गाँस्छ ? यि यस्ता झुट इतिहास काब्य रचनाको बारेमा एक शब्द खर्चेका छैनान् । आर्य ब्रम्हणहरु जबरजस्ति आफ्नो इतिहासको निर्माण गर्न तल्लीन छन् । डा.स्वामी प्रपन्नाचार्य किरातीहरुले निर्माण गरेको इतिहास र दस्तावेज भत्काउँन र जाली लाल मोहर भन्दै कुर्लिन छाड्दैनान् । यसै मन्त्रलाई जप्दै अर्को हिन्दु पण्डित केशवशरण आफ्नो मत प्रकट गर्दछन् । हिन्दु शब्दको अर्थ सभ्य हो अनादीकालमा किरातहरु सभ्य थिए । त्यसैले किरातहरु आर्य हिन्दु हुन । यो लेखमा जाली फर्जी लाल मोहरको विषय लिएर किन यति लामो प्रसङ्ग तन्काउँनु परेको हो भने डा.स्वामी प्रपन्नाचार्य जस्ता पण्डितहरुले अरुको इतिहास,सांस्कृति र धर्ममाथि धावा बोलेर सक्कलीलाई नक्कली र नक्कलीलाई सक्कली वा किरात इतिहासलाई आर्य सांस्कृतिक धरोहरमा मिसाउँन भर मग्दुर प्रयास गर्दै छन् । यो पक्तिकारको भनाई यो आधुनिक एवं वौद्धिक युगमा मनपरि वेदका ऋचा थपे जस्तै वनावटी इतिहासहरु थप्नु र जप्नु हुन्न । जनैधारी र तागाधारी ब्रम्हण क्षत्रिय र ठकुरीहरुको इतिहास भन्दा भिन्नै किरात इतिहासको जग बसेको छ । त्यही कुरामा किरातहरु रमाउँन चाहान्छन् र आफ्नो अस्तित्व स्वीकार गर्छन् भने किन जबरजस्ति जनै भिराउँने र तिमीहरु जनै धारीको संन्तान हौ भनेर इतिहास रटाउँने - इतिहासको कुरामा बहुमतको अवश्यकता हुँदैन भनेर झुट्टो बहाना बनाउँने - महाभारतको वन पर्वमा क्षत्रिय अर्जुन र किरातेश्वर महादेवको संग्राम सहित ति दुइवीच भएको संम्वादलाई उदारहरण लिने हो भने पनि महादेव पदवी लिने किरातेश्वरका संन्तानहरु आर्य क्षत्रिय हुन सक्दैनन् । तर डा.स्वामी प्रपन्नाचार्य आफ्नै झुठो अडानको थुम्कीमा बसेर यिनै झुठो इतिहासको खेति गदै किरात विद्धान बुद्धिजिवी र इतिहासकारहरुबाट लिखित दस्तावेज,इतिहास लाल मोहर र प्रमाणीत तत्थ्यहरुको विरुद्धमा आफ्नो सम्पूर्ण जीवनको भेडी राग अलाप्दै भेडी गोठालोले पालेको बाघ बनी रहेका छन् । उनका आँखामा चरुरभरी भेडाहरु भ्याँय ....भ्याँय ...गर्दै चर्दै गरेका हुन्छन् । बल गरेर डा.स्वामी प्रपन्नाचार्य पनि गतिलै स्वर निकाल्छन् खैर !त्यो भेडीकै राग हुन्छ । सबैले जानी लिया र डा.स्वामी प्रपन्नाचार्यलाई चेतना भया ।

limbu

येत्ले तङवे (किरात सम्बत)

विविध धार्मिक, सास्कृतिक सस्कार र सभ्यताले भरीएको देश नेपालमा सम्बतको पनि आफ्नै मान्यता रहि आएको छ । किन नहोस् नेपाका सरकारी काजको सन्बतलाई विश्वमानचित्रमा छुट्टै भन्ने नाममा याहाका विविधतालाई नामेट गर्न खोजिएको किन नहोस् । तर नामेट हुन सकेन अनित याहा ल्होसारको नाममा माघिको आवरणमा र कक्फेक्वा तङनाम सँगै कुसङ तङबेको नामले रही रहृयो, नया बर्षे खुसी बडी रहृयो, विभित षडयन्त्रका साथ किरातीहरुको अस्तित्व र पहिचानलाईनै निमोठ्ने प्रयास गरिएता पनि अन्यमा सत्यको विजय हुदै इतिहासलाई निरन्तरता दिदै, जिवित रहिनैरहयो ।
खिस्टाब्दको,बुद्घीष्टको ल्होसार सँगै किरातीहरुको कुसङ तङबे पनि यही परिधिमा सुरु हुन्छ, थारुहरुको माघी अनि आम नेपालीले मान्यता दिएको मकरसक्रान्ति सगै किरात धर्म र सभ्यता मान्ने किरात राजा यलम्वरको सम्झनामा सुरु भएको यो सम्बतलाई "येत्ले तङबे" अर्थात किरात सम्बत भनिन्छ । येले तङबेको बारेमा ठोस प्रमाण फेला नपरेको किन नहोस् ,तर किरातीहरुले आफुले मान्दै ल्याएको मुन्धुमी मान्यता र सास्कृतिको निरन्तरता सगै यहि माघे सक्रन्तिबाट आफ्नो नया सम्बत सुरु हुनेमा विश्वास गर्न थालेका छन । यसमा तर्क यो छ कि, नेपालका तमाम आदिवासी जनजातिहरुको सम्बत यहि परिधिमा परिवर्तन हुन्छ । त्यसैका आधारमा पनि किराती सभ्यताका आज किरातका सन्तान भनी गर्व गर्ने लिम्बूहरु, आठपहरीया (अठप्प्रे),राई, कोचे, मेचे, देवान,लहरुङ, थिनेल, याङफु राई,सुनुवार,हायु, चेपाङ, थामी,तामाङ, थकाली, थाकल, थोकल, शेर्पा, मगरहरु,गुरुङहरु,थारु, दनुवार लगायतले यसै दिनबाट नयाँ बर्ष प्ररम्भको शुभकामना समेत आदान प्रदान गर्ने गरिन्छ ।
यलम्बर सम्बत बिक्रम सम्बत सुरु हुनु भन्दा ३ हजार ३ बर्षअगाडी भएको मानिन्छ भने इस्वि सम्बत भन्दा ३ हजार ६० बर्षभन्दा अगाडी भएको ऐतिहाससक प्रमाणहरुमा पाईनछ । सो अनुसार यस बर्षो यलम्बर सम्बत  वर्षा प्रवेश गरेको छ । भाषा, लिपी, र साहित्य आफ्नै भएको किराती जातीहरुको सम्बतमा भने अझै प्रमाणिकताका आधारमा प्रचलनमा आइनसकेको भए पनि किरातकालको यलम्बरले शासन गरे पछिको गणना सग यो सम्बतलाई जोडेर हेर्ने गरेको पाइनछ ।
यलम्बर सम्बतको प्ररारम्भ माथिनै गरे झै माघे सक्रान्तिबाट प्रारम्भ हुन्छ, यसको पनि आ-आफ्नै खाले मिथक रहेको छ । परापूर्वकालदेखि नै धुमधामका साथ मानिन्दै आएको माघे सक्रान्तिलाई किरात लिम्बूहरुले "कक्फेवक तङ्नाम"का रुपमा मनाउछन भने यसैगरी सम्पूर्ण किरातीहरुले विभित पर्वको रुपमा मान्ने गर्दछन । माघे सक्रान्तीका दिन तरुल खोज्ने जंगल जानु कन्दमुल फलफूल खाएर जीवन यापन गर्ने गरेको आदिम सभ्यता हो । तर्सथ माघे सक्रान्ति र यलम्बर सम्बतको बिचमा कुनै न कुनै किसिम्को साइनो छ ।
यस्तै किरात राईहरुको लोकोक्ति अनुसार आफ्नो पूर्खा खोक्चीलिपत्र, राक्ष्यसनीको षड्यन्त्रबाट बच्नलाई बनतरुल खाएका थिए। यसैका सम्झनामा खुसियालिका साथ आज पर्यन्त यो चाड मनाउदै आएको मानिन्छ । त्यसैले उखानै छ, वनमा गई वनतरुल खाए धेरै दिन बाचिन्छ । किराती राजा यलम्बरले काठमाडौ-यलाखोम)को अहिरवंशी राजा भुवन सिंहलाई पराजित गरी यलाखोममा किराती शासनको सुरुवात गरेका राजा यलम्बरलाई सम्झिनदै यो "यलम्बर सम्बत" मान्ने गरेको विस्वास गरिन्छ ।

limbu

खम्बुवानको पृष्ठ भुमीमा लिम्बुवानको अस्तित्व
 
खम्बुवानको बृहत् राज्य चोइटिने टुक्रिने क्रममा पछिल्लो पटक खम्बुवानको सुदुरपूर्वी भाग जलजले, मिल्के र तीनजुरेको सिंहलिला पर्वत हुँदै तमोर नदीपूर्व लिम्बुवान बन्यो । तमोरपारिको सुसुवादेनबाट शुरु भएको लिम्बुवानको बीजारोपण अन्ततः फेदापको फेदेनलाई -आम्बेपोजोक्मा) लाई केन्द्र बनाई आठ खम्बूहाङहरुलाई सफाया गरी चोङफुङ रीतिको थीति बर्साई नयाँ राज्य लिम्बुवान बन्न पुग्यो र यस राज्यमा बस्ने सम्पूर्ण वासीले लिम्बू नाम धारण गरे । यसरी लिम्बू नाम धारण गर्नेहरुमा केही स्वयम् खम्बू, सारछोक्पा, चीनियाँ चोङहरु, सेन, कोच इत्यादि थिए ।
यसरी खम्बुवानको एक भाग चोइटिएपछि यता खम्बुवानको पाँच खप्पनअर्न्तर्गत हालको संखुवासभा, धनकुटा, सुनसरी र मोरङ्गको केही भाग पर्दथ्यो । यसभित्र हाल मोरङ्गमा पर्ने धनपालगढी, सुनसरीमा पर्ने सानगढी, धनकुटामा पर्ने पेलारागढी, संखुवागढी इत्यादि प्रख्यात गढीहरु हुन् । पछिल्लो चरणमा उता सानमकवान वंशीहरुले खम्बुवानको चौदण्डीगढी-मावागढी र पाँचखप्पन आफ्नो कब्जामा पारेपछि मोरेहाङ र सम्पूर्ण लिम्बुवान पनि उसको कब्जामा परेको देखिन्छ । यस पश्चात् आफ्नो कब्जामा परेका मोरेहाङको राज्य खम्बुवानको केही भूमि र सम्पूर्ण लिम्बुवानलाई शासन गर्न मकवानपुर भन्दा दोस्रो वा अर्को तहसिल राजधानी विजयपुरमा खडा गरेका हुन् । वास्तवमा विजयपुर सेनवंशीको तहसिल राजधानी हो । यो लिम्बुवानको राजधानी होइन । स्पष्ट पार्न खोजिएको के हो भने लिम्बुवान राजधानी त फेदाप हो । सेनहरुले नै पुरानो खम्बुवानको सानगढी थुमलाई खारेज गरी मिकलुक -चौबीस) थुम बनाएका हुन् । सेनहरुले यसरी १८३१ सम्म शासन सत्ता चलाइरहँदा खम्बुवानको मावा र चौदण्डीमा कर्ण
मान चौतरिया अगमसिंह खम्बू थिए भने विजयपुरमा दिवान बुद्धिकर्ण थिए । यसै बखत पृथ्वीनारायण शाहले र्सवप्रथम स्वतन्त्र रहेको खम्बुवानसँगै चौदण्डी विजय गरेको देखिन्छ । त्यसपछि सेनको अधिनमा रहेको खम्बुवानको पाँचखप्पन र विजयपुरअर्न्तर्गतको मोरेहाङको राज्यसमेत कब्जा गरेको देखिन्छ । बाँकी रहेको -सेनको कब्जामा रहेको) तमोरपारिको लिम्बुवानलाई सम्झौता गरी आफ्नो अधिन स्वीकार गर्न लगाएको देखिन्छ । पृथ्वीनारायण शाहले अधिनस्थ स्वीकार गर्न लेखेको चिठ्ठीमा "हिजु मकुवानीसेन राजाका भला सेवक हौ" भनी उल्लेख गरेबाट के स्पष्ट हुन्छ भने जलजले, मिल्के, तीनजुरेको पानीढलो पूर्वी तमोरपारी नै वास्तविक लिम्बुवान हो किनकि खम्बुवानको पाँचखप्पन र चौदण्डी वर्तमान सुनसरी -विजयपुर) कब्जापश्चात् मात्र लिम्बूहरुलाई उक्त पत्र दिइएको छ । वर्तमानमा पनि ती स्थानमा मात्र लिम्बूहरु रहेका छन् । सुनसरीको धरानमा -विजयपुरमा) त हिजोआज मात्र लिम्बूहरु झरेका हुन् । धरान झरे पनि विजयपुर -हाङखिम) मा अझ पनि लिम्बूहरु बस्न सक्तैनन् ।
संखुवासभा, धनकुटाको खम्बूक्षेत्र, सुनसरीको सम्पूर्ण खम्बूक्षेत्रमा लिम्बूहरु उछिट्टीएर पुगेका बाहेक कहीँ पनि बीऊ पाइँदैन । पृथ्वीनारायण शाहलाई सभक्तिपूर्वक स्वीकार गरी सेनहरुले कब्जा गरेको भूभागहरुलाई नै लिम्बुवान भन्ने आधार विज्ञान सम्मत छैन र हुनै सक्तैन । स्वघोषित विद्वानहरु बराल, तिगेला जस्ताले कसरी अरुणलाई सिमाना कोरे इतिहासले प्रष्ट्याउनेछ । अरुण ठूलो खोला साँध लाग्यो भनेर पृथ्वीनारायण शाहका सिपाहीले गरेको रिपोर्ट त 'अरुणसम्म जित हासिल गर्‍यौँ भन्ने मात्र हो । यदि सुनसरी, धनकुटा र संखुवासभा लिम्बुवान भएको भए किन ती स्थानमा लिम्बूहरुको बसोबास शून्य छ, यो वर्तमानको प्रष्ट प्रमाण हो ।
यस लेखमा के स्पष्ट पार्न खोजिएको हो भने सम्पूर्ण लिम्बुवान हिजोको खम्बुवानको एउटा अभिन्न हिस्सा नै हो । त्यसभित्रको लिपि, भाषा, संस्कार, सँस्कृति खम्बू आधारमा नै परिष्कृत र परिमार्जित भएको हो । त्यसमध्ये पनि समय अन्तरालमा कति आगन्तुक, तत्सम, तद्भव मिसिएर भाषा र सँस्कारमा केही भिन्नता मात्र आएको हो । आज पनि मुन्धुमले प्रमाणित गर्दछ कि लिम्बू-खम्बू सहोदर सदस्यहरु नै हुन् भनेर । तर, अतिक्रमणकारीहरुले आफ्नो अनुकुलतालाई ध्यान दिएर कोरेको सीमारेखा आज लिम्बुवान र खम्बुवानको सीमा किमार्थ हुन सक्तैन र बनाउनु पनि हुँदैन । हिजो जतिखेर स्वतन्त्र लिम्बुवान र खम्बुवान राष्ट्र राज्य हुँदा जहाँ सीमाङ्कन थिए त्यसैलाई तथ्य मान्नुपर्दछ ।
यही वैज्ञानिक तथ्यलाई मानेर लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका तत्कालस्न अध्यक्ष स्व. भक्तराज कन्दङवाले सिंहलिला पहाड र तमोर नदीलाई नै लिम्बुवानको सीमा भनी ठोकुवा गरेका छन् । लिम्बूहरुकै चबेगू वंशावलीले पनि यही कुरा लेख्दछ । यसैगरी विभिन्न समयमा लेखिएका अन्य पौराणिक दस्तावेजहरुले लिम्बुवान जलेजले, मिल्के, तीनजुरे पहाड हुँदै सोह्र खाल्लापारि सुसुवादेन तमोर
पूर्व लिम्बुवान भएको स्पष्ट पारेको छ । अर्कोतर्फ आजको वर्तमान भौतिक युगमा भोलि यी अरुण पूर्व पर्ने धनकुटा, संखुवासभा, सुनसरी र मोरङ्गका केही भागमा जनमत संग्रह नै गर्दा पनि लिम्बूहरु अल्पमतमा पर्ने स्पष्ट छ र यी स्थानहरु खम्बुवानमा अनुमोदन हुनेमा दुइ मत छैन ।
आज जति पनि लिम्बूजन्य संघ संगठनले अगाडि सार्ने गरेका दस्तावेजहरु छन् र जुनजुन दस्तावेजमा अरुणलाई सीमा हो भनेका छन्, ती सम्पूर्ण तथ्यहरु पृथ्वीनारायण शाह र रणबहादुर शाहसँग जोडिएका चिठ्ठीपत्र र कथित ताम्रपत्रहरु नै हुन् । यी सम्पूर्ण लिखित कुराहरु सेनवंशीलाई पराजित गर्दाको सीमाना तोकाइ मात्र हो । हिजो सेनवंशीले हडप गरेको खम्बुवान र त्यस बखतको लिम्बुवानको सीमाना चाहिँ यथार्थता हो र वास्तविक सीमाना पछिल्लो होइन, अघिल्लोलाई मान्नु उपयुक्त हुन्छ । किनकि, आजपर्यन्त त्यही सेनवंशले हडप गरेको बखतको खम्बुवानको अवस्थामा खम्बूहरुको सघन बसोबास रहेको छ । २१ औं शताब्दीमा राष्ट्र राज्य बन्ने आधार बसोबासको सघनता पनि हो भनेर कदापि भुल्नु हुँदैन ।

limbu

पेन्जिरी पेन्मिक्हा- -भुल गर्ने जोडी आँखाहरु माथि दृष्टिकोण

कक्-फुङ फेक्किल्ले
याम्मु निङ्वा- सुमथिक ताःकर
तोजो मेघेःङ्नेन्
तेङःबेःक्ल फा-साङ
निङ्वा- सुम्मेन् मेदेङ्नेन्
हेक्केल्लेसा
कक्फुङ्ङनि् फेक्किल्ले
याम्मु थिक्कलेङ
निङ्वा- सुम् हत्छे से .....।।
-निङ्वा--सुम पृष्ठ १३ बाट)

लिम्बू जातिमा फुङ -फूल) को ठूलो महात्व छ । प्रकृतिपूजक किराती लिम्बूहरुमा ऋतु परिवर्तनको मापक हो चाँपको थुङ्गा -कक्-फुङ) । जब चाँप फुल्छ तब उभौली शुरु हुन्छ । चाँप फुलेपछि याम मात्र परिर्वन हुँदैन । प्रकृतिकपुजक किरातीहरुको मनोविज्ञानमा यसले ठूलो उथलपुथल नै ल्याउँछ । पुराना संम्झनाहरु फेरि नवीकृत हुन्छन् । भनूँ -चाँप फूलले निष्ठुर जीवन यात्रामा प्रश्न उठाउँछ । जीवन त सतत् गइरहन्छ खोला जस्तै,किन चाँप फूल जस्तो वर्षोनी फुल्दैन - बरु वर्षोनी फुल्ने चाँपले जीवनप्रति मोहमात्र बढाउँछ । कवि टंक वनेमले पेन्जिरी पेन्मिक्हा- -भूल गर्ने जोडी आँखाहरु) कविता कृतिमा यसरी नैं जीवन र फूललाई एकै ठाउँ सिउरेर त्यसको सौर्न्दर्य र क्षणभङ्गुरतालाई नियालेका छन् ।
पेशाले टंक वनेम एक ब्रिटिस लाहुरे हुन् । हतियारले सिँगारिन्छ अक्सर लाहुरेको जीवन । वीरता,शुरता परिचय बन्छ । तर टंक वनेमका बन्दुक बोक्ने हातमा कलम छ । कलम र बन्दुक परस्पर अन्तर्बिरोधी त हुँदैहुन् । "लाहुरे" आफैमा लिम्बू जातिको कृतिम संस्कृति नै बनिसक्यो,राज्यद्धारा जबर्जस्ती थोपरिएको । सायद यसैले होला, उनका लिम्बू कवितामा लाहुरका कुनै प्रसङ्गहरु छैनान् । कविता कृतिम हुन सक्दैन । कविता प्राकृतिक हुन्छ - जस्तो कि एउटा लिम्बूको अवचेतनमा के छ - त्यही नै कविता हो । टंक वनेमका लिम्बू कविताहरुमा पाइने लिम्बूत्वले यही भन्छ ।
हाक्पारे साम्लो साम्लोराङः
साम्लोनु लोनु लाम्लोराङः
थो.. धो मेन्छ्यायेम थेगुत्थो
सुरीतेन सक्ते सुरुरु
आमिकवा थाबे चुरुरु ।।
-मेन्छ्यायेम थेगु थो पृष्ठ ३६ बाट)

स्थानीयता,जातिय चेत र एकताको आहृान,आफ्नो वीरासत उपर मोह,आफ्नो जातिय अस्तित्वप्रति गौरव तथा चिन्ता र चिन्तन नै टंक वनेमका लिम्बू कविताका विशेषता हुन । उनले कवितामा लिम्बूवानप्रति अशिम प्रेम प्रदर्शन गरेका छन् । अर्कोतिर इतिहासको धुलोमा मिलेको लिम्बूवानको ऐतिहासिक पृष्ठभूमि संम्झेर चुक्चुकाएका छन् । आधुनिकताको हुरी बतासले लिम्बू जातिका असली पहिचान,संस्कृति,भाषा र साहित्यको छानो उखेलिरहेकोमा पुनर्जागरणको उदघोष गरेका छन् । मुन्धुमी मूल्यहरु लोप हुँदै गएको विवशतालाई उनले कविता मार्फ अभिब्यक्त गरेका छन् । उनका प्रायःजसो कविताहरु लिम्बू जातिकै सामूहिक अवचेतनका विस्फोटक अभिब्याक्ति हुन । उनी कवितामार्फ् लिम्बू जातिमा बारम्बार जागरण,एकता र अघि बढन् आहृान गरिरहन्छन्, लिम्बूवानको ऐतिहासिक वीरासतलाई थाम्न वा उनी अहिलेको राजनीतिक परिस्थितिमा लिम्बू मनहरुलाई त्यतातिर विकेन्द्रीत गर्न चाहान्छन् । लिम्बू जातिको यस्तो साझा महसुसलाई साहित्यमा उतारेर उनले पुष्टि गरेका छन् ।

फक्ताङलुङ फाङ्जङ् नाम ओःत्ते
याक्थुङ्बा लाम्मिन् लाम पोःत्ते
निसाम्ले लाम्मिन् तेम्सुम्माङ
लत्थिक लाम् आल्लग नातुम्लो
मेन्निफागर खाओःत मेदानेन् ।।

त्यसो त उनका केहि प्रेम कवितासमेत रहेका छन् । तर त्यो एउटा युवकले एउटा युवती प्रति प्रत्यारोपण गरेको सामान्य प्रेम होइन,एउटा नालिगेन थाङबेन -लिम्बू युवक) ले एउटी सिसागेन् मेन्छिन् -लिम्बूनी युवती) लाई गर्ने विशेष प्रेम हो । प्रेमको परिभाषा र यसको अनुभूति आम मानिसमा साझा होइन, त्यो जातिसापेक्ष, वर्ग सापेक्ष,ब्याक्ति सापेक्ष हुन्छ भन्ने कुरा उनका कविताले उजागर गर्दछ ।
उनका थुप्रै कविता मुन्धुममा पसेर आधुनिक कविता भएर निस्किएका छन् । नावा चअिःत् यस्तो खालको कविता हो,जहाँ मुन्धुम अनुसार पोरोक्मी यम्फामीले सृष्टि रचना गर्छन्, आकाश,धर्ती,घाम,जून,जङ्गल,समुन्द्रदेखि मानिस रचनाको आख्यान गाउँदै-गाउँदै कवि यसलाई संसारको सबै भन्दा उत्कृष्ट कविता भन्छन् र कविता सकिन्छ । यो कवितालाई केहि कोणबाट ब्याख्या गर्न सकिन्छ । एक त,यसमा मुन्धुमलाई साहित्य मात्र मानिएको छ । अर्को मुन्धुम्लाई कवितामा प्रयोग गरेर आधुनिक कविता बनाइएको छ । मुन्धुम् आफैमा कविता हो तर क्लासिक । नावा चअिःत् क्लासिक कविता र आधुनिक कविताको "फ्युजन" अथवा रिमिक्स हो ।
उनको कविताको भाषा सरल,सरस र लेखन शैली मूर्त रहेको पाईन्छ । उनले कतिपय कविता लिम्बू लोक छन्दमा लेखेका छन् भने धेरै जसो उनका कविताहरु गद्यपरक नै छन् । उनले विम्व,प्रतीक,मीथक लिम्बू जातिमा प्रचलित मुन्धुम्,संस्कृति,सभ्यताबाटै लिएका छन् । लिम्बू जातिमा फूल,चरा,लुङ -ढुङ्गा) यङ्घङ् -खोला नाला) थेगु माङ्वा -डाँडा काँडा) थुमथुमको विशेष महात्व र सिमेक्वा चराको आफ्नै कथा छ,अन्दङ् फुङ -बाबरी फूल) र सेक्मुरी फुङ -सेल्लेरी फूल) एकआपसमा लिम्बू जातिमा विपरीत अर्थबोधक प्रतीक हुन् । अन्दङ् फुङ् -बाबरी फूल) मृत्युको प्रतीक हो भने सेक्मुरी फुङ् जीवनको प्रतीक हो । उनले यस्ता धेरै लिम्बू प्रतीकलाई प्रयोग गरेका छन् । त्यस्तै प्रयोगले उनका कविता साँच्चिकै मौलिक लिम्बू कविता बनेका छन् । उनका लिम्बू कविताले जहाँ भएपनि पाठकलाई लिम्बूवान पुर्‍याउँछ । मेन्छ्यायेम -मिल्के पर्बतमाला) फक्ताङ्लुङ् -कुम्भकर्ण हिमाल) एम्बीरी याङधाङवा -तमोर नदी) मुजोत्लुङ् -सिद्धि स्थल,धरोहर) जस्ता लिम्बूवान र मुन्धुमी मुल्यसंग गाँसिएका अनेक प्रसङ्गहरुले उनका कविता लिम्बूमय बनेका छन् । भाषा लिम्बू हुँदैमा लिम्बू कविता बन्ने होइन,अनुभूति,बिषय वस्तु,निचोड,कल्पनाशीलता पनि लिम्बूपरक छन् उनका कवितामा । यो कविता संङग्रहमा जम्मा २७ वटा लिम्बू कविताहरु रहेका छन् । आधुनिक लिम्बू कविताको क्षेत्रमा यो कविता संङग्रहलाई कोषेढुङ्गा हो भन्दा बात नलाग्नु पर्ने हो ।

limbu

खेवा लिम्बू र पंक्षी
किरात लिम्बूहरूमध्ये धनकुटा र तेह्रथुम जिल्लाका केही गाविसहरूमा छथरे लिम्बूहरू बसोबास गर्छन् । धनकुटा जिल्लाको हात्तीखर्क, मूर्तिढुङ्गा, अर्खौले जीतपुर, घोर्लिखर्क, तेलिया र ताङ्खुवा गाविस तथा तेह्रथुमको ओख्रे, पोखरी, फाक्चामारामा रहेका छन् । छथरे लिम्बूमा छवटा थर हुन्छन् र उनीहरूलाई खेवा लिम्बू पनि भनिन्छ । छथरे लिम्बूहरूमा तिगेला, तुम्बा, माङ्याक, मादेन, चोङबाङ तथा आङ्लाबाङ (आङ्खेवा) पर्छन् । उनीहरूलाई खेवा भन्नुको अर्थ खे भनेको लिम्बू भाषामा वन हो भने वा को अर्थ कुखुरा वा पक्षी हुन्छ । यी लिम्बूहरूको एउटा विशेषता के हो भने उनीहरू कुनै पनि पक्षीको मासु खाँदैनन् । पक्षी खाएमा आफूहरूलाई त्यसले पिरोल्ने वा अशुभ हुने सांस्कृतिक तथा धार्मिक विश्वास उनीहरूमा छ ।
ताक्लुङ यक
छथरे लिम्बूहरू आफ्नो पितृभूमिको सम्मान गर्दै तेह्रथुमको ओख्रे गाविसमा रहेको ताक्लुङ यक (गढी) लाई उनीहरू आफ्नो इतिहासको विरासत मान्ने गर्छन् । उक्त गढीको ऐतिहासिक पक्ष केलाउने हो भने सो गढी छैटौँ शताब्दीमा लिम्बूवान दस प्रान्तमा विभाजित हुँदा छथरे लिम्बूहरूले खडा गरेका हुन् । इडेन भ्यान्सिर्टार्टको पुस्तक गुर्खाज (१९०६) मा उनले उक्त ठाउँमा ताक्लुङ खजुमहाङ राजाले शासन गरी उनले चिमलिङ्ग गढी वनाएको उल्लेख छ । सोही कुरालाई किराँत विद्वान् इमानसिंह चेम्जोङले आफ्नो पुस्तक हिस्ट्री एण्ड कल्चर अफ किरात पिपल (१९६७) मा र्समर्थन गरेका छन् । तर ताक्लुङ गढीका सम्बन्धमा इतिहासकारहरू प्रेमबहादुर लिम्बू र भुपेन्द्रनाथ ढुङ्गेल तथा शिवकुमार श्रेष्ठले विमति प्रकट गरेका छन् । लिम्बू र ढुङ्गेलको संयुक्त इतिहासकृति सङ्क्षिप्त नेपाल इतिहास अनुसार उक्त पुस्तकमा लेखिएअनुसार उक्त गढीलाई ताक्लुङदेन यकि भनिएको छ र यसलाई राजधानी वनाएर खेबोहाङले शासन चलाएको उल्लेख गरिएको छ । तर उनीहरू सबैको भनाइप्रति असहमति जनाउँदै लिम्बूवानसम्बन्धी पछिल्लो इतिहासकृति लिम्बूवानको ऐतिहासिक अध्ययन (२०४२) मा इतिहासकार शिवकुमार श्रेष्ठले उक्त गढीमा रहेर इमिमुहाङले छथर इलाकाको शासन गरेका र उनी खेवा थरका लिम्बू थिए भनेका छन् । उनले ताक्लुङ यक वनाएर शासन चलाएको उक्त पुस्तकमा उल्लेख छ । वास्तवमा श्रेष्ठको भनाइ सत्यताको नजिक किन पनि छ भने सो गढीलाई अझै पनि यस क्षेत्रका छथरे लिम्बूहरू आफ्नो इतिहासको विरासत मान्छन् र वर्षोनि त्यहीँ पितृपूजा गर्ने गर्छन् । त्यहा २०१२ सालसम्म विभिन्न शिलालेखहरू रहेका थिए भन्ने कुरा मानव उत्पति र खेवा वंश (२०५५) पुस्तकमा उल्लेख छ तर ती सबै अहिले भूक्षयका कारण नष्ट भइसके भने त्यहाँका महत्वपूर्ण सामग्रीहरूसमेत लोप भएर गइसकेका उक्त पुस्तकमा उल्लेख छ । यद्यपि त्यहाँ छथरे लिम्बूहरूले पूजा गर्न भने छाडेका छैनन् । छथरे वंशावलीअनुसार छैटौँ शताब्दीमा यसै गढीमा रहेर छथरे प्रान्तको शासन गर्ने लिम्बू राजाका इमेबुङका दसौँ पिँढीका हाङजिलीहाङ्दुम्बाका चार भाइ छोरा आपसमा छुटि्टदा खेवा लिम्बूहरू चार थरमा विभाजित हुन पुगे । जेठा छोरा मुक्तिमहाङ खेवालाई तिगेला भन्न थालियो । यस्तै, माइलो लुम्दुमहाङलाई मङ्याक, साइँलो लेतुमहाङलाई आङ्लाबाङ र कान्छो चोङहिमलाई चोङबाङ भन्न थालियो र यी चार जना चार थरमा विभाजित हुन पुगे । तीमध्ये मङ्याक थरबाट अर्को दुइ थर निस्क्यो । उनका सन्तानमध्ये एकले मादेन र अर्कोले तुम्बा थर लेख्न थाले । त्यसपछि यी खेवा लिम्बूहरू छथरमा विभाजित हुन पुगेको खेवा वंशावलीमा उल्लेख छ ।
खेवा अर्थात् वनकुखुराको कथा
खेवा लिम्बूहरू कुनै पनि पंक्षीको मासु खाँदैनन् । उनीहरू पंक्षीको हत्या गर्न हुँदैन भन्ने मान्यता राख्छन् । उनीहरू पंक्षीलाई शुक्रताराका रूपमा सम्मान गर्छन् र शुक्रतारा झुल्केको समयमा कहिँ कतै हिँडे साइत पर्छ भन्ने विश्वास राख्छन् । यस सम्बन्धमा लिम्बू मुन्धुममा एउटा रोचक किम्वदन्ती उल्लेख पाइन्छ । सत्ययुगमा पोङ्गेनदिङ नामका एक बालक थिए । उनी नै खेवा लिम्बूका पूर्खा हुन् । उनी जीवनयापनका लागि शिकारीको रूपमा जङ्गलजङ्गल चाहार्थे । यसरी जङ्गल चाहार्नेक्रममा उनले एक दिन एउटा वनकुखुराको फुल बाटामा भेटे । त्यो फुललाई उनी अत्यन्तै माया गर्थे र त्यसलाई आफैँसित राखेर सुत्ने गर्थे । समय पुगेपछि त्यो फुलबाट एउटा चल्लाको जन्म भयो । कालान्तरमा त्यो एक भाले कुखुरा बन्यो । त्यस कुखुरालाई त्यो बालकले पालनपोषण गरी हूर्काएको हुनाले कुखुरा बालकप्रति आभारी थियो । एक दिन त्यस वनकुखुराले जवान भइसकेका त्यस मनुष्यलाई भन्यो, हे मनुष्य अब तिमीले आफ्नो सृष्टिलाई अगाडि बढाउनुपर्छ । त्यसका लागि तिमीले विवाह गर्नुपर्छ । तिम्रो विवाह गराएर मलाई लगाएको गुणको बदला तिर्नेछु । मनुष्य अक्क न बक्क भयो । उसले ठानेको थियो यो संसारमा केवल ऊ र त्यस वनकुखुरा मात्र रहेको छ । त्यसैले उसले सोध्यो, हे वनकुखुरा तिमीले यो के भनेको - मैले कसरी र कोसित विवाह गर्ने र सृष्टि चलाउने ? उसले आफ्नो विवाह सम्भव नभएको भन्दै वनकुखुराको प्रस्तावप्रति आर्श्चर्य व्यक्त गर्‍यो । त्यसपछि तिम्रो लागि म एउटा जीवनसाथी ल्याएरै छाड्छु भनी भाले उडेर बेपत्ता भयो । ती मनुष्यलाई भने कौतूहल भयो । केही दिनपछि त्यो वनकुखुरा एउटी सुन्दरी कन्यालाई लिएर आइपुग्यो । मनुष्य चकित भए । त्यसपछि वनकुखुराले ती सुन्दरीलाई औँल्याउँदै भन्यो, हे मनुष्य मैले तिम्रो लागि यिनै कन्या ल्याइदिएको छु, यिनीसँगै तिमी विवाह गर अनि आफ्नो सृष्टिलाई अगाडि बढाएर लैजाउ । यसपछि ती मनुष्य र कन्याबीच विवाह संस्कार सम्पन्न भयो । विवाहपछि वनकुखुराले बिदा माग्दै भन्यो, अब मैले तिम्रो गुनको बदला तिरेको ठानेको छु । अब म तिमीहरूबाट बिदा हुनुपर्छ । मलाई बिदा देऊ । तर यी लोग्नेस्वास्नी भने वनकुखुरालाई अत्यन्तै माया गर्थे । आफ्नै परिवारका सदस्य ठान्थे । त्यसैले उनीहरू वनकुखुराको आफूहरूबाट अलग्गिने कुराप्रति र्समर्थन गर्न सक्दैनथे । अझ वनकुखुराले आफूले गर्नुपर्ने कर्म गरेकोले आफू जानैपर्ने बताउँदै भन्यो यदि मलाई देख्नु वा भेट्नु छ भने भोलि बिहानको मिर्मिरेमा आकाशको पूर्वतर्फ हेर्नु मलाई त्यहीँ पाउनेछौ, तिमीहरूले मेरो सिर र पुच्छर देख्नेछौ । आफ्ना परिवारको सदस्य सरहको त्यो वनकुखुरो आफूहरूबाट विछोडिएपछि विहृवल वनेका सम्पतीले भोलि बिहानै पूर्वतर्फ आकाशमा मिर्मिरे उज्यालो हुनासाथ हेरे । त्यो वनकुखुरा त शुक्रतारा पो भएछ । त्यसपछि दम्पतीले भने, सेवारो (नमस्कार), तिमी वनकुखुराको रूपमा आएका माङ (भगवान्) पो रहेछौँ । हाम्रो कल्याण गर प्रभु । त्यसपछि उनीहरूले आफूबाट जन्मने सन्तानको वंश खेवा (वनकुखुरा) राख्ने निर्णय गरे । यसरी वनकुखुराले जुराएको यी दम्पतीबाट दुइ छोराको जन्म भयो । उनीहरूमध्ये जेठो छोरोचाहिँ बाबुआमाको अर्ति-उपदेश मान्ने गर्थ्यो भने कान्छो छोरो चाहिँ बाबुआमाले भनेको मान्दैनथ्यो । आमाबाबुले भनेको शिकार गर्दा कुनै पनि पक्षीको प्राण लिनु हुँदैन भन्ने अर्ति-उपदेश विपरीत ऊ जङ्गलजङ्गलमा घुमी पक्षीहरूको बध गर्ने गर्थ्यो । कहीँ कतै जाँदा पनि शुक्रतारा झुल्केको समय उपयुक्त साइत हो भन्ने आमाबाबुको भनाइलाई पनि ऊ लत्याउने गर्थ्यो । एक दिन ऊ कुनै साइतविना जङ्गलमा शिकार गर्न गयो । वनकुखुराको शिकार गर्नका लागि बेलुकाको साइतमा घर छाड्ने बेलामा आमाबाबुलाई भन्यो, यदि म भोलि बिहान भाले बास्दाबास्दै आइँन भने म मरेको ठान्नुहोला । धनुकाँड लिएर हिँडेको ऊ रातभर शिकारको खोजीमा भौँतारिँदा भौँतारिँदै बिहान शुक्रतारा पनि झुल्किसकेको थियो । त्यसैबेला उसले एउटा वनकुखुरा देख्यो र तत्काल धनुकाँड प्रहार गर्‍यो तर उसको निशाना असफल भयो । बरु त्यो वनकुखुराले भन्यो, मलाई मार्न खोजेर तिमीले ठूलो गल्ती गर्‍यौ । मैले तिम्रो सृष्टिका लागि काम गरेको थिएँ । यसो भनिसकेपछि वनकुखुरा तत्काल त्यहाँबाट अल्पियो । वनकुखुराको शिकार गर्न गएको त्यो व्यक्तिको पनि तत्काल मृत्यु हुनपुग्यो । यसरी आफ्नो सृष्टि चलाइदिएका कारण खेवाहरू वनकुखुराको मात्र होइन सम्पूर्ण पंक्षी जगतको सम्मान गर्छन् र पंक्षीको शिकार गर्ने मात्र होइन, उनीहरू पंक्षीको मासु खाँदैनन् पनि । यसले गर्दा खेवाहरूले आफ्नो सांस्कृतिक आस्थाका कारण पंक्षीहरूको संरक्षण पनि गर्दै आएका छन् ।

limbu

नश्लबोधीय चिन्तन बोकेको उपन्यास आदिवासी
 
नेपाली उपन्यास साहित्यको इतिहासलाई हेर्दाखेरि प्राथमिककालीन अवस्थादेखि नै कुनै न कुनै प्रभावमा परेर लेख्दै आएको पाइन्छ । १९५६ सालमा लेखिएर १९६० सालमा छापिएको गिरीशवल्लभ जोशीको वीरचरित्र’ नामक उपन्यासलाई पहिलो मौलिक उपन्यास मानिएको छ नेपाली उपन्याससाहित्यमा । आधुनिक नेपाली उपन्यास लेखन परम्परा भने रूद्रराज पाण्डे रूपमती -वि.सं.१९९१) छापिएपछि सुरू भएको हो भनेर मान्दै आएको पाइन्छ । त्यसपछि नेपाली उपन्यासका क्षेत्रमा विभिन्न धारा र वादमा रहेर उपन्यास सिर्जना हुँदै आइरहेको छ र त्यो प्रक्रिया अद्यपि छँदैछ अनि कालान्तरमा चलिरहने छ ।
यही उपक्रममा देश सुब्बाको दोस्रो उपन्यास आदिवासी’ -२०६४) भर्खरै आएको छ । यसभन्दा पहिले पनि उनको अपमान नामको उपन्यास प्रकाशित भइसकेको छ । देश सुब्बा साहित्यलाई भयवादी दृष्टिकोणबाट हेर्दछन् । उनलाई नेपाली साहित्य जगतमा भयवादका प्रवर्तक भनेर पनि चिनिन्छ । उनको आदिवासी उपन्यासमा यही भयवादी दृष्टिकोण पाइन्छ । अथवा उनको दृष्टिकोणमा दुनियामा मान्छेले कुनै न कुनै रूपको भय बोकेर हिँडेको हुन्छ र ऊ भयबाट मुक्त हुनै सक्दैन । उनको यस उपन्यासमा प्रयुक्त विषयवस्तु भनेको पूर्वी नेपालमा रहेका लिम्बू आदिवासीको हो । त्यसकारण उनको यस उपन्यासमा सुरूदेखि अन्त्यसम्म लिम्बू आदिवासी संस्कृतिले जेलिएको छ । उपन्यासमा आध्यात्मिक रूढिलाई निकै महत्व दिएजस्तो लाग्छ । उपन्यासको पात्र निसाम्ले "आफ्नो भाषा, लिपि, धर्म, संस्कृतिको संरक्षण भयो भने मात्रै आफ्नो जातिको अस्तित्व रहन सक्छ नत्र जातीय मुद्दाहरू जति उठाए पनि र जस्तो आन्दोलन गरे प नि त्यस जातिको अस्तित्वको कुनै अर्थ रहँदैन" भनेको छ । अहिलेसम्म नेपालमा रहेको एकात्मक राज्य व्यवस्थाको तीव्र रूपमा यसले विरोध गरेको छ । केन्द्र भङ्ग वा विकेन्द्रित राज्यव्यवस्थाप्रति आस्था व्यक्त गरिएको छ । यति मात्रै होइन यस उपन्यासमा जातीय मोहलाई चर्को रूपमा उठाइएको पाइन्छ ।
यस उपन्यासमा एकजातीय शासन व्यवस्था, धर्म र सांस्कृतिक भूतले सताइएको वर्तमान नेपालको स्वरूपमा परिवर्तन हुनुपर्ने चाहना पाइन्छ । एउटा फूलबारीमा विविध जातका फूलहरू फुले मात्रै फूलबारी सुन्दर देखिन्छ कुरालाई अभिव्यक्त गरिएको छ उपन्यासमा । उपन्यासकारले "अबको समाज भनेको बहुलवादी हुनुपर्छ यानेकि एउटाले अर्काको अस्तित्वलाई स्वीकार गरेर हिँड्न सक्नु पर्छ । यदि कोही अतिवादको घोडा चढेर हिँड्छ भने त्यसको र्सवनाश हुन्छ" भन्ने दृष्टिकोण उपन्यासमा अघि सारेका छन् । यस उपन्यासमा प्रयोग गरिएको भाषा अपमान उपन्यासको भन्दा भिन्न र शिल्पयुक्त देखिन्छ । उपन्यासमा आदिम किराती लिम्बू संस्कृतिलाई उजागर गरेर वर्तमानमा टड्कारो रूपमा देखिएको सांस्कृतिक विचलनप्रति कडा व्यङ्ग्य गरेका छन् । आफ्नो संस्कृतिको संरक्षण आफैले गर्नुपर्ने धारणामा उनले जोड दिएका छन् । उनको यस उपन्यासमा नश्लबोधीय चिन्तन छ्यापछ्याप्ती भेट्न सकिन्छ ।
आदिवासी उपन्यासमा लिम्बू जातिको सामूहिक चेतनालाई प्रतिबिम्बित गरिएको छ र उनीहरू कसरी भयको शिकार हुन पुगे भन्ने यथार्थलाई देखाउने काम भएको छ । आदिवासी किरात लिम्बूहरूको सांस्कृतिक खोजी गरिएको उपन्यास हो भन्दा अर्को अर्थ नलाग्ला यहाँ । उपन्यासमा यथार्थ, मनोविज्ञान र स्वैरकल्पनाको मिश्रण भेटिन्छ । उपन्यासमा कलात्मकताभन्दा वैचारिक पक्षलाई जोड दिइएको छ । अर्कोतिर उनले उपन्यासमा दर्शन र आख्यानको मिश्रण गराएर सुन्दर बनाउने प्रयास गरेका छन् । उपन्यासमा उनले काव्यात्मक भाषाको प्रयोग गरेका छन् भाषिक दृष्टिकोणले हेर्दा ।
उपन्यासले अड्गाल्न खोजेको अर्को विषयवस्तु भनेको नेपालमा २०५२ सालदेखि यता विकसित भएको आन्दोलन र त्यसले समाजमा पारेको प्रभावलाई निसिम पात्रका माध्यमबाट देखाइएको छ । यहाँ खड्किएको विषय भनेको चाहिँ स्थानीयता र विश्वजनित परिवेशलाई उपन्यासकारले जोड्न बिर्सिएका छन् ।
यस उपन्यासमा देश सुब्बाले आदिवासी किरात लिम्बू जातिको प्रकृति प्रेमलाई सुन्दर ढङ्गले देखाएका छन् । उनले यहाँ "प्रकृतिबाट मानिस टाढा हुँदै जाँदा मान्छे कसरी भयभीत हुन्छ र प्रकृतिको नजिक हुँदा मान्छे कसरी भयमुक्त हुन्छ" भन्ने कुरालाई राम्ररी देखाएका छन् । यस उपन्यासलाई गहिरिएर नियाल्दा उपन्यासकारलाई अल्वेयर कामुको दफल र काफ्काको क्यासल उपन्यासको प्रभाव परेको हो कि जस्तो देखिन्छ ।
उपन्यासमा प्रयुक्त पात्र निसाम्ले आन्दोलनको नेतृत्व गरेको देखाइएको छ । यस पात्रले मौलाउँदै गएको गैरसरकारी संस्थाको कार्यप्रति सन्देह व्यक्त गरेको छ । आफू आत्मनिर्भर र सचेत भए मात्रै आफ्नो र आफ्नो भाषा, लिपि र संस्कृति बाँच्ने नत्र मर्ने कुरा देखाइएको छ । यही पात्रका माध्यमबाट नेपालमा वर्तमान अवस्थामा रहेको मिश्रति समाज व्यवस्थालाई सहज रूपमा स्वीकार्नुपर्ने तर एकले अर्कोमाथि थिचोमिचो गर्दा भय उत्पन्न हुन्छ र त्यसबाट नकारात्मक विद्रोह जन्मन्छ भन्ने तीतो सत्यलाई देखाइएको छ । उपन्यासमा प्रयुक्त बाला र मु लुकी दुइ नारी पात्रहरूमध्ये ज्ञान र आलोककी प्रतीकलाई स्वैरकल्पनाको माध्यमबाट उभ्याइएको छ भने मु लुकीलाई सहरीकृत यथार्थ प्रतीतका रूपमा उभ्याइएको छ ।
अतः औपन्यासिक नियमका हिसाबले उपन्यासमा प्रयुक्त विषयवस्तु, परिवेश, दृष्टिबिन्दु, भाव र पात्र चयन सबै कुराहरू उपयुक्त देखिन्छन् । यहाँ उपन्यासकार सबभन्दा ठूलो भयका रूपमा ब्राह्मणवादी व्यवहार र चिन्तनले अन्य जातजातिमाथि गरेको एकलौटी थिचोमिचो र विकृति हो जस्तो लाग्छ । नेपाली उपन्याससाहित्यमा नवीन सोच र नवीन प्रयोगका साथ आएको गहन उपन्यासका रूपमा उपन्यासकार देश सुब्बाको आदिवासी उपन्यासलाई लिन सकिन्छ ।

limbu

चासोक तङ्नाम

लिम्बु मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो । कृषि जीवनशैलीका लिम्बुले ऋतु परिवर्तनसँगै खेतीपाती लगाउने र बटुल्ने समयलाई चाडका रूपमा मनाउँदै आएका छन् । आरुको फूल फुल्न थालेपछि उँभौली याम सुरु भएको मानिन्छ भने पैंयु फुलेको यामसँगै खोलानदीमा माछा, आकाशमा चराचुरुङ्गी दक्षिणतिर लागेको ऋतुलाई उँधौली याम सुरु भएको संकेतका रूपमा मनाइन्छ । उँभौली र उँधौली याममा सम्पन्न गरिने चाडपर्व कृषिसँग सम्बन्धित छन् । उँधौलीमा परिश्रमको फल- विविध अन्नपात र उपयुक्त हावापानी हुने भएकाले चासोकलाई 'चासोक तङ्नाम' -न्वागीपूजा) का रूपमा मनाउने गरिन्छ ।
लिम्बु भाषामा 'चासोक' को अर्थ न्वागी र 'तङ्नाम' को अर्थ उत्सव वा चाडपर्व हुन्छ । हङकङ, बेलायत, बु्रनाइ, सिंगापुर बिदेसिएका लिम्बुले पनि यो पर्व मनाउँदै आएका छन् । किरात लिम्बुको 'मुन्धुम' मा चासोक पूजाको उत्पत्ति वर्णन पाइन्छ । कृषि युगअघि लिम्बुका आदिम पूर्खा सावायेत्हाङहरू कन्दमुल काँचै खाएर जीवनयापन गर्थे जसले गर्दा कुपोषण र रोगब्याधिको सिकार हुन्थे । त्यसबाट मुक्ति पाउन उनीहरूले र्सवशक्तिमान तागेरानिङ्वाफुमाङ -प्रकृति) को पूजाआराधना गरे । उनको कृपाबाट पेना/माङदःक् -कोदो), परामा -कोदोसँगै फल्ने बिरुवा), ताक्मारु -घैया धान), तुम्री -जुनेलो), साङ्घामा, लिङ्घामा र लङ्वामा आदि अन्नका बीउविजन प्राप्त भयो । आदिम पूर्खा सावायेत्हाङहरूले प्रकृतिबाट यसरी पाएको बीउविजन तिनका चेली सिवेरा एःक्थुक्मा/सिवेरा यावुङ्केक्माले काठको खन्ती र अङ्कुसेले खोरिया फाडेर भस्मेमा छरिन् । त्यसपछि सावायेत्हाङहरूले खेतीपाती सिके । फलेको अन्न आगामा पकाएर खान थाले । बल्ल सावायेत्हाङका सन्तानले कुपोषण र रोगब्याधिबाट मुक्ति पाए । खेतबारीमा पाकेको अन्नबाली आगामा पकाएर खान सिकाउने आफ्नी चेलीदेखि खुसी भई सावायेत्हाङहरूले उनलाई पहिले चढाएपछि मात्र खान पाउने वाचा गरे । यसरी कृषि युगदेखि न्वागी परम्परा बसेको 'मुन्धुम' मा उल्लेख छ । मानव हित गर्ने चेली सिवेरा एःक्थुक्माप्रति कृतज्ञता व्यक्त गर्न चासोक पूजा गरिदै आएको छ । जंगली देवताका रूपमा ताम्भुङ्ना, लेकमा बस्ने तक्सङ्वा, उत्तरको उच्च पहाडबाट किरात प्रदेशमा गरेकी सिरिङ्मा वा मुदेनहाङमा -साया मुदेन), दक्षिणको तराईबाट आएकी तेन्छामा, कहिले उत्तर, कहिले दक्षिणतिर घुमी हिड्ने खजमा, पानीमा बस्ने वाजमा, रिसका देवता मिसेक, अन्नबाली उत्पादनमा उचित समयमा घामपानी दिएर बालीनाली राम्रो बनाइदिने थुङ्दाङ्बा - सूर्यदेवता), मातृशक्तिका रूपमा प्रकट भएकी इष्टदेवी युमा साम्माङ, पितृशक्तिका रूपमा प्रकट भएका लिम्बुका आदिपुरुष देवता, थेबा साम्माङ, मानिसलाई बास दिने घर हिम सँम्माङलाई चासोक तङ्नाममा पूजा गरिन्छ । चासोक पर्व यो पर्वको सामाजिक महत्त्व भए पनि राज्यले किरात चाडका नाममा ०४८ सालदेखि एक दिनमात्र जातीय बिदा दिने गरेको छ । लिम्बु, र्राई, याक्खा र सुनुवार जातिले तीन दिनसम्म र्सार्वजनिक राष्ट्रिय बिदा माग्दै आएका छन् । परम्परादेखि घरघरमा चासोक तङ्नाम मनाउदै आए पनि डेढ दशकयता यसलाई आदिवासी जनजाति लिम्बुलगायत चार किरातीले आफ्नै शैलीमा सामूहिक रूपमा र्सार्वजनिक माङहिम र स्थलमा भेला भई तीन दिनसम्म मनाउन थालेका छन् । उधौली पर्वलाई लिम्बुले चासोक तङ्नाम, र्राईले साकेवा, सुनुवारले फोलष्यांदर र याक्खाले चासुवाका नाममा मनाउ“छन् । लिम्बुको जातीय संस्था किरात याक्थुङ चुम्लुङको पहलमा सामूहिक रूपमा फेदाङ वा तुम्याङहाङहरूका सहयोगले चासोक पूजा गर्न थालेका छन् । यसरी यो पर्व सामूहिक चाडका रूपमा स्थापित हुन थालेको छ । यस अवसरमा भेटघाट गर्ने, मनोरन्जन गर्ने गरिन्छ । यो चाड लिम्बु जातिमा सामाजिक सद्भाव र सम्बन्ध बढाउने माध्यम हुन थालेको छ । तङ्नाम अवसरमा विभिन्न सामाजिक र सांस्कृतिक गतिविधि हुने गर्छन् । रिसराग, इष्र्या बिर्सेर चासोक तङ्नाममा आत्मीयतासाथ लिम्बु दाजुभाइ एवं दिदीबहिनीले भेटघाट र शुभकामना आदानप्रदान गर्छन् । खाद्य परिकार चाम्रे, याङबेन -झ्याउ), सिगोले, फिलिङ्गे र फुदोको अचार, कोदोको तोङ्वा, तीनपाने रक्सी बनाएर खाने गर्छन् । पाहुनाको सेवासत्कार गर्छन् । चेलीबेटी हुक्वा -आफैले बनाएको शोभित) र अन्य प्रकारको 'चेसुङ' -कोसेली) साथ माइतीघर आउनेजाने गर्छन् । युवा र्सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेल 'पक्लुङ' -छेलो हान्ने खेल) खेल्नुका साथै माछा मार्ने गर्छन् । सामूहिक रूपमा केलाङ -च्याब्रुङ) बजाएर र्छुइ र्छुइ हा सरलाइमा सर भन्दै नाच्छन् । नाता नपर्ने तरुणतन्नेरी जातीय पहिरन र गहनामा सजिएर एकआपसमा हात समाउदै मायाप्रीतिका गीतलाई पालामको भाकामा स्वर उरालेर 'यालाङ' -धाननाच) नाच्छन् । प्रौढ, वृद्धवृद्धा मुन्धुमी साम्लो, हाक्पारे आदि गीत गाएर मनोरन्जन गर्छन् । साम्बा/येमाहरूको उपलब्धताअनुसार एकराते 'तङसिङ' पनि यस अवसरमा सम्पन्न गर्ने चलन बढ्न थालेको छ । चासोक तङ्नामले सांस्कृतिक, सामाजिक र धार्मिक महत्त्व बोकेकाले जनजीवनमा यसको अविछिन्न सम्बन्ध रहिआएको छ । यस चाडले जातीय पहिचान र सांस्कृतिक गौरव बढाएको छ भने सामाजिक सद्भाव, एकता र पारस्परिक सहयोगको भावना पनि बढाएको छ ।

limbu

जातीय स्वायत्तताको खोज
बेगल मौलिक पहिचान र चिनारी भएको लिम्बु आदिवासी किराती जाति हो । मौलिक भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरु नेपालको पल्लोकिरात वा अरुण पूर्वको पहाडी भू-भागमा बसोबास गर्दछन् । नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ जनसंख्या भएको यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुरलगायत विभिन्न ठाउँहरुमा छरिएर रहेका छन् । आफ्नै सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिकस्वरुप बोकेको यो जाति हाल अस्तित्व साथै हक अधिकारको लागि प्रयासरत छ । मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरु हुन् । त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरु हुने गर्दछन् ।
लिम्बु जातिले आफ्नो अस्तित्वको निमित्त ऐतिहासिक यात्रा तय गरेको पाइन्छ । मानवशास्त्री र इतिहासविद्हरुका अनुसार मानव एक चलायमान जाति हो । यिनीहरु एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन् । यही क्रममा लिम्बुहरु चीनको युआन प्रान्तको शिचुवान प्रदेशमा बसोबास गर्ने शान मकवान जातिका थिए, र तिनै जातिका मानिसहरु थाइलैण्ड, भियतनाम हुँदै बर्माको उत्तरी भागमा बर्साईं सरे, जुन ठाउँलाई मङकवान भनिन्छ । बर्माको मेकङ नदी आसपासको उपत्यकामा विरोधीहरुसँगको भीषण युद्धमा धेरै जिउधनको नोक्सानी व्यहोरेपछि बाँकी दश जना युद्ध सरदारहरु आसामको कमरुप हुँदै आजको किरात प्रदेशमा बसोबास गर्न थालेका हुन् । तथापि, यिनीहरु चिनियाँ मूलका नभएर भोट-बर्मेली परिवारका सबैभन्दा पूराना जातिहरु हुन् । उनीहरु मंगोलियन नश्लका भएपनि चिनियाँ जातिसँग नजिकको सम्बन्ध छैन । इण्डो-मंगोलोइड नश्लका किरातीहरुको आगमन नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए । किरातीहरुले पश्चिममा काठमाण्डौ उपत्यकासम्म आर्थिक, सामाजिक गतिविधिहरु सञ्चालन गरेका थिए । विशेषतः पूर्वी पहाडी इलाकाहरु तामाकोशी, अरुणकोशी, तमोर उपत्यकाहरुमा भस्मे फाँडी मलिलो जग्गाहरुमा खेतीपाती गर्थे । अन्नपातका बीउविजन, भैसी, सुँगुर र अन्य जनावरहरु घरेलुकरण गर्दै कृषियुगमा प्रवेश गरेका थिए । काठमाण्डौको गोकर्ण केन्द्र बनाई उपत्यकाभित्र पनि खेतीपाती गरेका थिए । यही समयमा काठमाण्डौ उपत्यकामा खसहरु गाई, बाख्रा, भेडासहित घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्रित भइरहने गर्थे, जो इण्डो-आर्यन भाषा बोल्दथे । उपत्यकाभित्र किराती गोत्रका भोट बर्मेली भाषा बोल्नेहरु र खसहरुबीच सामाजिक सम्बन्ध सुमधुर थियो । खसहरु -गोपालवंशी पनि भनिन्छ)ले किरातीसँग खेतीपाती गर्न सिकेका थिए । यसरी, उपत्यकाभित्र दुबै जातिले खेतीपाती र जनावरहरु घरेलुकरण गरेकाले पहिलोपटक नयाँ किसिमको राजनीतिक, आर्थिक, सामाजिक व्यवस्था सुरुवात भएको हो ।
यहीक्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावलीअनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादर माबोहाङका अनुसार ३३ पुस्तासम्म किराती राजाहरुले काठमाण्डौ उपत्यकामा शासन गरेका थिए । बौद्ध दर्शनबाट किराती राजाहरु प्रभावित भएका थिए । सातौं किराती राजा जितेदास्तीको पालामा स्वयम्भु चैत्य र मञ्जुश्री चैत्यको दर्शन गर्न गौतम बुद्ध आई १३५० शिष्यहरु बनाएको भनिन्छ । किरात वंशलाई लिच्छवीहरुले धपाएपछि पूर्वतिर लागेका हुन् । यसरी पूर्व लाग्नेहरु राई, लिम्बु, याक्खा, धिमाल, मेचे, कोचे, सुनुवार आदि हुन् । त्यसताका काठमाण्डौ एउटै किरात प्रदेश थियो । वल्लोकिरात, माझकिरात, पल्लोकिरात भनि भू-भाग विभाजन गर्ने काम गोरखा राज्यको विस्तार क्रममा भएको पाइन्छ । किराती शब्द समूहवाचक वा राजकीय हो भने विभिन्न मूल्य, मान्यता, भौगोलिक, सांस्कृतिक स्थिति, भाषिकरुपले गर्दा खम्बु, लिम्बु, याक्खा, सुनुवार, जिरेल, सुरेल, मेचे, कोचे र धिमालको रुपमा विभाजित भएका हुन् । तर, धेरै सामाजिक मूल्य, मान्यतामा सामिप्यता रहेको छ ।यसरी, अरुणपूर्व रहेका किरातीहरुमध्ये लिम्बु जातिहरुमा आफ्नो छुट्टै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक संरचना रहन गएको हो । उनीहरुमा बौद्ध धर्मदर्शनले कुनै प्रभाव नपारेको पाइन्छ, किनकि आफ्नै मुन्धुम दर्शनबाट निर्देशित सामाजिक अवस्था र स्वायत्त कृषि प्रणाली हुनुको साथै आपुंगी राजनीतिक प्रणाली वा विभिन्न सरदारी प्रथा वा प्रणाली रहेको थियो । जसमध्ये विजयपुर गढी सबभन्दा शक्तिशालीरुपमा रहेको थियो । विभिन्न समयमा विभिन्न थुमका प्रमुखहरुलाई लालमोहर प्रदान गरेको पनि पाइन्छ । तमरखोला, माइखोला, मेवाखोला, याङरुप, आठराय, पान्थर, फेदाप, चारखाल, चौबीस, छथरजस्ता थुमहरुले विजयपुरमा सम्बन्ध राखी आफ्ना थुमहरुमा आपुंगी राज गरेको र सम्बन्धन प्राप्तिको लालमोहर लिने गरेको र लिम्बुवान संघीय प्रणालीअनुरुप सञ्चालन भएको पाइन्छ । लिम्बुवानमा धेरै समयसम्म उत्तरको भोट क्षेत्रबाट र पूर्वको सिक्किमबाट कयौंपटक आक्रमण भएको थियो, फलतः सामाजिक, आर्थिक, राजनीतिक अवस्था कमजोर हुन पुग्यो । भनिन्छ, भोटबाट आउने लामाहरुले किराती पुरुषहरुलाई खोजीखोजी मार्ने गर्दथे, र धेरै समयसम्म किराती नारीहरुले आफ्ना पुरुषहरुलाई लुकाएर बचाएका हुन् । लामाहरुको भेषमा डमरु र घण्टी बजाउँदै घरघर चहारेको भन्ने मत रहेको छ । त्यस्तै, सिक्किमका लाप्चाहरुले पनि धेरैपटक आक्रमण गरेको पाइन्छ । तथापि, समयसमयमा भोटसँग व्यापारिक र वैवाहिक सम्बन्धहरु भएका थिए । त्यसताका वस्तु विनिमय प्रणाली थियो । लिम्बुवानमा कपासबाट धागो बनाई लुगा बनाउने, प्रशस्त कृषि उत्पादन गर्ने र पशुपालनजस्ता मुख्य आर्थिक गतिविधिहरु हुन्थे ।
लिम्बुवानको सामाजिक व्यवस्था पूर्णतः मौलिक थियो । मुन्धुम मुख्य स्रोत वा अलिखित कानुनसरह थियो । यसलाई येत्हाङहरुले समयसमयमा परिभाषित गरेको अनुमान छ । येत्हाङहरु को थिए भन्ने प्रश्न रहेपनि सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरीजंगाहाङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन आदि किरात दर्शनका मुख्य प्रवर्तकहरु हुन् । सामाजिक व्यवस्थापनका निमित्त गरिने सम्मान, पुरस्कार, दण्ड, सजाय, प्राकृतिक श्रोत साधनको व्यवस्थापन, थिति थाम्ने, नीति, नियम निर्माण गर्ने कार्य तुम्याहाङहरुको निर्णयमा आधारित हुन्थ्यो । यदि एक जना तुम्याहाङले अस्वीकार गरेमा निर्णय असम्भव हुन्थ्यो ।
इशाको एघारौं शताब्दीमा लिच्छवी राज्य टुक्रेर धेरै राज्यहरु बन्न थाले । चौधौं शताब्दीमा मल्लहरुले काठमाण्डौ कब्जा गरे । यहीबेला मल्ल राजा जयस्थिति मल्लले हिन्दू दर्शनबाट प्रभावित भई समाजलाई पेशागत आधारमा ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी चार जातमा विभाजन गरे । चौधौं शताब्दीमा भारतमार् इश्लाम धर्मको जेहादका कारण पहिलोपटक ब्राम्हण, ठकुरीहरु नेपालको पश्चिम कर्णाली इलाकाहरुमा खसहरुसँग शरण लिई लुक्न थाले । त्यस्तै, द्रव्य शाहको राज्य प्राप्तिसँगै गोरखा राज्यको स्थापना भयो, र काठमाण्डौ उपत्यकाको शासक भएपश्चात् चौबीसे बाइसे र किरात प्रदेशहरुको समेत महाराजा हुने चाहनाले क्रमशः मकवानपुर हुँदै बाइसे, चौबीसे, चौदण्डी, विजयपुर हात पारेपछि लिम्बुवान पनि हात पारे । कतिपय थुमहरुले सम्झौता गरे भने कयौंपटक लिम्बुवानसँग हार खानु पर्यो । यही क्रममा चैनपुरमा गोरखासँग भीषण लडाइँ भएको थियो ।
लिम्बुवानका सेनापति काङसोरे थिए भने गोरखातर्फा रघुवीर राणा थिए । रघुवीर राणा र काङसोरेबीच भएको लडाईंमा रघुवीर मारिए । अन्त्यमा, हारजीत नभएपछि सम्पूर्ण सेनाहरु बिनाहतियार उपस्थित भए । तर, तत्कालै गोरखा सेनाहरुले बालुवामा लुकाई राखेको तरवार झिकी काङसोरे मारियो । र, पुनः भीषण युद्ध भयो । यसरी, विभिन्न कारणवश वि.सं. १७७४ मा लिम्बुवान नेपालमा गाभियो । त्यसताका हिन्दूकरण नमानी आफ्नै येत्हाङ थितिमा चल्ने आधारमा किपट प्रणालीअन्तर्गत सम्झौता भएको थियो । जसमा लिम्बुवान भूमिमाथि लिम्बु जातिको मात्र अधिकार रहेको थियो । उनीहरुले दक्षिणपूर्वी र पूर्वी भागबाट हुने आक्रमणको प्रतिरोध गर्नुपर्ने शर्तमा लिम्बुवान गाभिएको थियो । न्यूनरुपमा कर शाहवंशी राजालाई बुझाउनु पर्दथ्यो । तत्पश्चात् लिम्बुवानमा पहिलोपटक बाहुन, क्षेत्री, मगर, गुरुङहरु चौबीसे, गोरखा, मकवानपुरबाट बसाईं सरे, र नयाँ सामाजिक संरचना सुरुवात भयो । विभिन्न प्रलोभनहरु देखाई लिम्बुवान समाजलाई टुक्राउने क्रम जारी रह्यो, लिम्बुवानमा सुब्बा नियुक्ति गर्ने प्रचलन ल्याइयो । जसमा ६० मुरी फल्ने जग्गा रैकर गराएपछि सुब्बा नियुक्त गरिन्थ्यो, र सुब्बाहरुले आफ्नो रैती राखी तिरो कर उठाउने प्रचलन सुरुवात भयो ।यसरी धेरै लिम्बुहरु सुब्बा हुने सुरमा आफ्नो किपट भूमि रैकर बनाई गुमाए । लिम्बुवानमा पछि पनि सिक्किमबाट आक्रमण भइरह्यो । त्यहीबेला पान्थरका ५२ सुब्बाहरु योङहाङ सुब्बाको नेतृत्वमा काठमाण्डौ आई रणबहादुर शाहसँग युद्ध गर्न हतियार माग गरे । रणबहादुरले ढाल, तरवार, त्रिशुल, नगरा, निशान, बन्दुक, शंख, नरसिंगा मौलो थापी दसैंको नवमीको दिन बलि चढाउनु पर्ने शर्तमा दिई पठाए । यो पहिलोपटकको सांस्कृतिक अतिक्रमण थियो । दसैंको कर पनि असुल्न थालियो । मौलो काटेको पञ्जाको निशानको लागि लिम्बुवानमा धेरैपटक तिलिंगा आतंक मच्चाइयो । वि.सं. १९१० मा जंगबहादुर राणाद्वारा ल्याइएको मुलुकी ऐनमा अपमानजनकरुपमा नमासिन्या मतवाली लिम्बु जाति भन्दै व्याख्या गरिएको र गाई हत्या मानव हत्यासरह अपराध हुने कानुन ल्याइएपश्चात् नेपाली समाजमा असमानपूर्ण व्यवहार जातको आधारमा गरिन थालियो । छथर थुमका आठ पहरिया राईहरुले दसैं नमान्ने भनी प्रतिरोध गरे, र विद्रोह गरेपछि रामलीहाङ र दीक्षमा मारिए । २००७ सालमा जहानियाँ राणा शासनविरुद्धको जनक्रान्तिमा जि.वि. याक्थुङबा, बि. बि. चेम्जोङ र रामप्रसाद राईजस्ता जनसेनानीहरुले क्रान्तिको अगुवाई गरेका थिए । तर, उनीहरुलाई केवल सत्ता हत्याउन प्रयोग गरी अन्त्यमा फालिएको थियो । राणा शासनकालमा भाषा, धर्म, साहित्य, संस्कृतिको जगेर्ना र विकासको सवाल गम्भीर अपराधसरह थियो । तथापि, दोस्रो विश्वयुद्धताका इमानसिं चेम्जोङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन र त्येअङसी सिरीजंगाबाट उल्लेखनीय कार्यहरु भएका छन् । इमानसिं चेम्जोङद्वारा गरिएको इतिहास, भाषा, साहित्यप्रतिको योगदान, लिम्बुवान सुधार संघ, फाल्गुनन्दद्वारा गरिएको किरात धर्मदर्शन, सत्य धर्म मुचुल्का र विभिन्न योगदान, त्येअङसी सिरीजङगा सिंथेबेबाट गरिएको भाषा प्रचारप्रसार र सर्म्बर्द्धनसम्बन्धी योगदान लिम्बु जातिको पहिचान र अस्तित्वसँग जोडिएको छ ।
यही क्रममा श्री ५ महेन्द्रबाट २०२१ सालमा ल्याइएको भूमिसुधार ऐनबाट पर्ूण्ारुपमा लिम्बुवानको किपट प्रथा उन्मुलन गरी लिम्बुवानसँगको सन्धि उल्लंघन गरिएको छ । र, एक जाति, एक भाषा, एक धर्म, एक भेष, एक राज्यको नीतिअनुरुप लिम्बु भाषा, धर्म, संस्कृति, साहित्यप्रति घोर अन्याय गरियो । सोही अवधिमा किरात धर्म तथा साहित्य उत्थान संघ २०३६ सालमा स्थापना भई झिनोरुपमा भाषा, धर्म, साहित्यको कार्य सुरुवात भयो । राज्यले एकाधरुपमा राज्य संयन्त्रमा लिम्बु जातिको प्रतिनिधित्व गराएपनि लिम्बु जातिको पक्षमा कार्य गर्ने वातावरण उपलब्ध गराइएको छैन । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापश्चात् संविधानमा व्याख्या गरिएको बहुजाति, बहुभाषी, बुहसांस्कृतिक नेपालमा सबै जातजातिको भाषा, धर्म, संस्कृतिको विकास कायमै राखी राष्ट्रिय एकतालाई अझ बलियो बनाउने अवसर प्रदान भयो ।
मानव समाज वर्गीय र लैंगिक आधारमा मात्र नभई सांस्कृतिकरुपमा पनि विभाजित छ । नेपाली समाज ब्राम्हण, क्षेत्री, राई, लिम्बु, मगर, गुरुङ आदि जातीय आधारमा सांस्कृतिकरुपले बेगल पहिचान राख्दछ । सोहीअनुरुप आज लिम्बु युवा तथा विद्यार्थीहरु मानव समाजभित्र आफ्नो अस्तित्व र पहिचानको निमित्त संघर्षरत छन् । यद्यपि, नेपाल अधिराज्य मात्र भएको, तर राष्ट्र हुन नसकेको अवस्था छ । नागरिकता वा राहदानीमा नेपाली लेखाउने राज्यको लादिएको नीति छ । सदियौंको गौरवान्वित इतिहास बोक्ने लिम्बु जातिले आफ्नै भूमिमा दोस्रो दर्जाका नागरिकको व्यवहार झेल्नुपर्ने अवस्था छ । युवाहरु व्यावहारिक र वैज्ञानिक शिक्षा लिएर पनि राष्ट्र विकास, एकता कायम गर्नबाट बञ्चित भई लाहुर, मुग्लान र अरबजस्ता ठाउँहरुमा परदेशिनु पर्ने बाध्यता छ । फलतः सांस्कृतिक पहिचानको फैलावट र विकासको साटो सांस्कृतिक विकृति बढ्नुको साथै पश्चिमीकरणले व्यापकता पाएको छ । राज्यको विभेदकारी नीतिका कारण सरकारी र प्रशासन सेवामा लिम्बुहरुको उपस्थिति शुन्य छ । सरकारी कामकाजको भाषा केवल खस नेपाली भाषा मात्र राज्यले परिभाषित गरेको र राज्यले पूर्णतः मौलिक याक्थुङ भाषा बोल्न नसक्ने अवस्थामा पुर्याएको छ । लिम्बु युवाहरुलाई विदेशी सेवामा कार्य गर्ने वातावरण बनाई आर्थिकरुपमा पराधीन तुल्याइएको र लिम्बु समाज विशेषतः कृषि र पशुपालनमा निर्भर भएकोले उनीहरुको जीवनस्तर उकास्न राज्यले वैज्ञानिक कृषि प्रणाली र कार्यक्रम अगाडि नल्याउनुले लिम्बुहर

limbu

सहिष्णुताको माला गाँस्ने चाड उभौली
 
उभौली चाड नेपालका आदिवासी/ जनजातिहरू मध्ये किरात लिम्बू, राई, याक्खा र सुनुवारले मनाउने विशेष पर्व हो । यो चाड प्रत्येक वर्ष वैशाख पूणिर्माको दिन पर्छ । यस चाडलाई समग्रमा उँभौली भनिए पनि प्रत्येक जातिले आ-आफ्नै तरिकाले सम्बोधन गर्छन् । लिम्बू जातिले 'याक्वा' राईहरूले 'साकेला उँभौली, सुनुवार -कोञीच/ कोइँच) हरूले 'सालिवाजत्ना' वा 'मूली ष्याँदर' र याक्खाहरूले 'तेन्ताम्मा' नामले यस उँभौली चाडलाई पुकार्छन् । किरातहरूले वर्षरिको समय अवधिलाई विशेषतः उँभौली र उँधौली गरी दुइ भागमा विभाजन गर्छन् । यसमा उँभौली चाड वैशाख पूणिर्मामा पर्छ र उँधौली चाड मङ्सिर पूणिर्मामा । उँभौलीको अर्थ उँभो जाने याम हो भने उँधौली उँधो जाने यामको रूपमा मानिन्छ । किरातहरू उँभौलीको समयमा गर्मीयाम सुरु भई सम्पूर्ण चराचुरुङ्गी, पशुपन्छी, माछा र कीरा-फट्याङ्ग्राहरू उँभो लेकतिर जाने विश्वास गर्छन् । यो उँभौली याम आरु फुलेको समयबाट प्रारम्भ हुने विश्वास छ । यही याममा नयाँ बीउबिजन छरपोख गर्दा नयाँ पलाएका पालुवासँगै छरिएका बीउहरू पनि वातावरण अनुकूल भई सप्रिँदै जाने विश्वास गरिन्छ । आफूलाई 'किरात' भन्ने लिम्बू, राई, याक्खा, र सुनुवार आदि जातिहरूले यो उँभौली चाडमा भूमिपूजा र पुखाको सम्झना गर्छन् । यसक्रममा लिम्बूहरूले परा पूर्वकालदेखि गरिआएको कुनै उच्च डाँडापाखामा भेला भई विशेष पूजाआजा गर्छन् । यसरी गरिने अनुष्ठानमा भूमि, हावा, पानी, आगो र जीव तथा वनस्पतिको पूजा गर्ने गरिन्छ । यसका साथै लिम्बूहरूले आङ्खनो इष्टदेव तागेरा निङ्वाभुमाङ तथा युमा र थेबा साम्माङको पूजा गर्छन् । त्यसैगरी मानवजातिलाई अन्नको पहिचान गर्न र खेती गर्न सिकाउने पूर्खाहरू खाम्जिरी खाम्बोङ्बा, मुर्गुइ थल्लङ्हाङ, याभुङ्ग्रेक याभुङ्ग्रेक्मा, मादेनहाङ लुङ्गुमहाङ, नुगोहाङ र हायुहाङको पूजाअर्चना गर्छन् । यसरी नै लिम्बूहरूले पुज्ने अन्य देवीदेवताहरूमा मिसेक्पा -आगोको देवता) ताम्भुङ्ना -वनको देवता), तक्सङ्बा -लेकको देवता) मुदेनहाङ्मा -उत्तरको देवता), तेन्छामा -दक्षिणको देवता), खञ्जमा -उत्तर-दक्षिण डुलिहिड्ने देवता) वजमा -गुरु देवता) र वरक्मा -पानीको देवता) को पनि पूजाअर्चना गर्छन् । यो याक्वा चाडको अवसरमा गरिने पूजा आ-आङ्खनै घरमा एकल र गाउँवासी सबै मिलेर कुनै डाँडापाखामा सामूहिक रूपमा पनि गरिन्छ । यो अनुष्ठान गर्दा लिम्बूहरूको फेदाङ्मा -देवारी) ले सृष्टिको वर्णन मानवजातिले खेतीपाती गर्न सुरु गरेको मुन्धुम वाचन गर्ने गर्छन् । यस अवसरमा लिम्बूहरूले धान खेतीसँग सम्बद्ध नृत्य धाननाच र घर निर्माणसँग सम्बद्ध नृत्य च्याबु्रङ नाच नाच्ने गर्छन् । त्यस्तै खडेरी र वर्षासँग सम्बद्ध खेल छेलो पनि हान्ने गरिन्छ । किरात र्राईहरूले साकेला उँभौली मनाउँदा आफू बसोबास गरेको ठाउँ अनुसार परम्परागत भेषमा नाक्छोङ वा होमेहरूद्वारा चुला पुजेर मुन्धुम अनुसार पूजाअर्चना गर्ने गर्छन् । राईहरू वैशाख पूणिर्माको दिनदेखि साकेला नृत्य ढोल, झ्याम्टा, सिर्लिङ, मिरिमा आदि लिई हर्षोल्लाससाथ सबै उमेरका मानिसहरू एकसाथ वृत्ताकारमा गीत गाउँदै नाच्ने गर्छन् । उक्त साकेला नृत्यको थालनी नाक्छोङद्वारा कटुसको स्याउला गाडी गरिन्छ भने विभिन्न नृत्यका भावहरू सिलिमाङ्पा तथा सिलिमाङ्माको निर्देशनअनुसार वृत्ताकारमा ढोल-झ्याम्टाको तालमा प्रस्तुत गरिन्छ । किरात राईहरूले सुम्निमा र पारुहाङलाई आङ्खना आराध्य आदिपूर्खा तथा धरती र आकाशको प्रतीकका रूपमा पनि मान्छन् । त्यसैले साकेला थानमा स्थापना गरिएका एकजोडी शिलाहरू -सेतो र कालो) लाई सुम्निमा र पारुहाङको प्रतिरूप मानिन्छ । यस चाडमा नाचिने सिलीहरू मानव जीवनको विभिन्न पक्ष तथा प्रकृति र पशुपन्छीसँगको सम्बन्धलाई प्रतिविम्बित गर्ने खालका ठाउँ र थर हेरी धेरै प्रकारका हुन्छन् । यो चाडमा विशेषतः पूर्खाले खोरिया फाडेको, खनजोत गरेको, बीउबिजन छरपोख गरेको तथा प्रकृति र पूर्खालाई मानसम्मान गरेका सङ्केतहरू अनुकरण गरेको पाइन्छ ।किरात सुनुवारहरूले यो उँभौली पूजालाई 'मूली ष्याँदर' वा 'सालिवा' भनेर मान्छन् । सुनुवार जातिको सबैभन्दा ठूलो चाड नै यो उँभौली 'मूली ष्याँदर' हो । सुनुवार संस्कृतिअनुसार जन्ममूली, रत्नमूली, दुमामूली -सृष्टिकर्ता, पालनकर्ता, संहारकर्ता) देखि लिएर जून, घाम, तारा, आकाश, पाताल, हावा, पानीजस्ता प्रकृति पूजादेखि संसारका सबै देवीदेवताको पूजा गरिन्छ । यो पूजा मूलतः कृषि बालीनाली सप्रियोस् र पशुपन्छी पालन राम्रो होस् भनेर गरिन्छ । अन्नबाली सप्रियोस् भन्नका लागि 'सुरोम' पानी समयमै परोस् भन्नका लागि 'सिमेभूमे' रोगव्याधिबाट बच्नका लागि 'संसारी माई' पशुपालन सप्रोस् भन्नका लागि 'सिदाबाजे' र शान्तिका लागि 'गोसाडे' को पूजा गर्ने गरिन्छ । यही अवसरमा सुनुवारहरूले पनि आङ्खनो मौलिक पोसाक र बाजागाजासाथ रोचक नृत्य गर्ने गर्छन् । विशेषगरी नेपालको पूर्वी भाग संखुवासभामा बसोबास गर्ने किरात याक्खाहरूले पनि यो उँभौली चाडलाई उत्तिकै महत्त्वसाथ मान्छन् । याक्खाहरू यस चाडलाई 'तेन्ताम्मा' भनी सम्बोधन गर्छन् । यो तेन्ताम्मा पूजा सम्पूर्ण गाउँवासी मिली एकसाथ गर्ने गर्छन् । यो पूजालाई भूमिपूजा पनि भन्ने चलन छ । यसमा विशेषतः आ-आफ्नो पूर्खाले पहिलोपल्ट टेकेको भूमि र उनीहरूले पहिलोपल्ट पिएको पानीको मूल -मूलपानी) को पूजा गरिन्छ । याक्खाहरूले पनि यो उँभौली चाडमा मौलिक बाजा च्याब्रुङ र झ्याम्टासाथ आङ्खनै पोसाकमा सजिएर महिला-पुरुष एकसाथ च्याबु्रङ र धाननाच नाच्ने गर्छन् । आदिवासी/जनजाति लिम्बू, राई, याक्खा र सुनुवारहरूको मात्र नभएर अन्य जनजातिहरूको चाड पनि यही याममा पर्छ । यही याममा धिमालहरू 'सिरिजात' पर्व भूमिपूजाको रूपमा मनाउँछन् । यसरी नै थारुहरूको 'सिरुवा पावैन' गुरुङहरूको 'तोते', तामाङहरूको 'छेचु' शेर्पाहरूको 'दुम्जी' तथा 'न्युग्ने' र मगरहरूको 'घाटुनृत्य' नाच्ने समय पनि यही याममा पर्छ । हिन्दू तथा बौद्धमार्गीले मान्ने पर्व चण्डीपूणिर्मा पनि यही वैशाख पूर्णिमा मै पर्नुले यो चाड नेपालीलाई धार्मिक र सांस्कृतिक सहिष्णुताको मालामा गाँस्ने पर्वको रूपमा विकास हुनसके हामीले चाहेको स्थायी शान्ति र दिगो विकास हुनुमा सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।

mundhum

मुन्धुम् र भौतिकवादी दृष्टिकोणको तारतम्य

मुन्धुम् संसारको सृष्टि,मानब जगतको भलो र प्रगति गर्ने विषय वा सार संक्षेप नैं वास्तविक मुन्धुम्को सारतत्व हो । मुन्धुम् शब्दको उत्पति मुन-हल्लीनु थुम±दुम-जोडिनु मुन±दुम-मुन्धुम् हुन्छ । अथवा हल्लीरहने शक्तिशाली तत्व जोडिएर कुनै अर्थ लाग्ने बस्तु वा सिर्जना हुने शब्दको नाम नै मुन्धुम् हो । मुन्धुम्को अर्थ खाम्बोङबा लुङबोङबा अथवा सावा येत्हाङहरुको प्राचीन भाषा,माङ्बाणी -माङ इङघङ)देब भाषा जो मुहिगुम्अङसी,देबअङसीहरुको वाणी वा मौखिक शास्त्रादीहरुलाइ मुन्धुम् मानिएको छ । मुन्धुम् भित्र थकसाप मुन्धुम् -लिखित शास्त्र) पेसाप मुन्धुम् -टिप्पणी शास्त्र) थुङसाप मुन्धुम् -मौखिक शास्त्र-श्रुति परम्परा) सक्सक् मुन्धुम् -कागज शास्त्र) र साम्यो मुन्धुम् र्-धर्म शास्त्र) यि शास्त्रहरुलाइ समग्रमा साम्जिक वा चाम्जिक मुन्धुम् मानिएको छ । श्रुति कथा,आख्यान, लोक साहित्य र गाथाहरुको समष्टीरुप नै मुन्धुम्को आधार हो । थुङसाप मुन्धुम् -श्रृति शास्त्र) साकमुरा वादेम्मा मुन्धुम् अनुसार मुजिङना खेयङ्ना -इश्वररुपि स्त्रीरुप) मस्त जवानी भइ यौनतृष्णाले छट्पटिन्दा सुइसुइला खेल्दै रुखमाथि खुट्टा हल्लाएर हावा खाइ बस्दा -सुसुङ्गे लालाङ्गे -इश्वर-माङ्को बिर्य) हावाको माध्यमले मुजिङना खेयङ्नाको योनीमा प्रबेशगरि गर्भधारण भइ जन्मेका युकपुङ्गेन् सावाङगेम्बा नै प्रथम मानब पुत्र मानिन्छ । अर्थात शास्त्रीय मुन्धुमी भाषाले भन्छ कि सुनले बनाउँदा पनि मान्छे बनेन्,चाँदिले बनाउँदा पनि मान्छे बनेन अर्को शब्दमा तत्वले जीवन बनेन र बनिन्दैन्,जीवनले मात्र जीवन बन्छ । जस्तो बाजेबाट बाबु आयो, बाबुबाट छोरा आयो, छोराबाट नाति आयो अर्थात जीवन बन्नलाइ जीवन नै चाहिन्छ । यसलाइ अग्रेजीमा Law or theory of Biogenesis भनिन्छ । मुन्धुम् अनुसार जीबांश भनेको सिमिक्ला खाप्पु, वहिचेल्लेक्ना, वादुम्-पक्वा वा आकाशे पानी जो ढुङ्गाको खोपिल्टो वा कुनै पानी जम्ने ठाँउमा जम्मा भई त्यो पानीमा आवश्यक जीबांशहरु जम्मा हुन गई तागेरानिङ्वाफु माङको आशीर्बादले मात्र मानिसको सृष्टि भयो । यसरी मानिस वा जीवको उत्पति हुने सिद्धान्तलाइ नै मुन्धुम्ले अघि सारेको छ । मुन्धुम्मा थुप्रै माङ्हरु उत्पन्न भई बिभिन्न सिर्जनाहरु गरेको मुन्धुम् वर्णन गर्दछ । तर बुझनु पर्ने कुरा के हो भने समय क्रम अनुसार ब्रामण्ड र पृथ्बीमा भएका सर्म्र्पुण बस्तुहरु परिबर्तन हुदै जाने निश्चित अबस्थालाई श्रुति परम्परामा माङ् -इश्वर) को उपस्थिति मानिएको छ । डार्बिनको विकासबादी सिद्धान्त अनुसार वाँदरले मानिसको रुप लिन पुगेको हो । त्यो बैज्ञानिक तथ्यलाइ स्वीकार्नै पर्छ । तर अब संसारका वाँदरहरु वाँदर नै रहि रहन्छन् । वाँदरबाट मान्छे बन्ने वाताबरणको परिवर्तन क्रम गुज्रि सकेको छ । यो बैज्ञानिक तथ्यलाइ स्वीकार गर्दछौ भने थो खाम्छी छिरीरो खाम्लन्दी साःमा -साःमेन्छा) लुङछी छिरीग लुङबोङ्बा साःमा, मेन्छाम तुम्बुमा याप्मी तुम्बुमा, मुजिङनामारो खेयङनामाआः, थाप्साङ लन्देआङ लदेन लन्देआङ,थो फक्ताङलुङ्मेत्थो पेन्बेन वामेत्थो,चुक्मु नेन्छीङ्ङाङ् हिङमु नेन्छीङ्ङाङ् ,चुक्मु लोरेल्य हिङमु लोरेल्य, भन्ने शास्त्रीय मुन्धुमी काब्यलाई पनि स्वीकार्नै पर्ने हुन्छ । जब फक्ताङ्लुङ पेन्बेन्लुङमा माङजिरी माङ्लःदा -माङ्गन तेम्बे) तेन्मा ढुङ्गा माटो र हावा पानी द्धारा जन्म भएकी मुजिङ्ना खेयङ्ना मस्त जवानी हुन्छिन् अनि मुन्धुमी भाषामा यसरी गर्भधारण हुन पुग्छिन् ।

लक्लेलक लकले पेलीरक पान्लो
थो सिन्युक् पिबारो मुदेन पिबारो
थो सुरावेत तेम्बे काम्फोना तेम्बे
थोसु इङबेल्लो खाङला इङबेन्न्
योसु इङबारो सुरा इङबेन्न्
लक्लेलक लकले पेली र पारे
यो साङगफे कफे नाङवामा चङधो
मुजिङनामाग खेयङनामाग
कुजेक् ....
सिसा केरेआङ मेन्छीन् केःरेआङ
साम्मिःत् मुक्तेआङ केजङ् मुक्तेल्ले
यो साङगफे कफे नावामा चङधो
लिङगफे कफे नावामा चङधो
केरुङ तोसेल्ले कुहिम तोसेल्ले
साम्मिःत् रक मुक्ते केजङरक मुक्ते
साम्मिःत्ले मुतुः केजङ्ले मुत्तुआङ
मुजिङनामाग खेयङनामाग
आबुरक लाःरुरो सारुङरक लाःरुरो ।
मुन्धुम्मा यसरी सर्बप्रथम मानबको गर्भधारण हिमालमा भएको छ । यता रुसी आँखा अनुसंन्धानकर्ता एबं बैज्ञानिक इरस्ट मोल्डाशेभको इन्टरनेशनल एकेडेमी अफ साइन्स युन -१९९६) द्धारा प्रकाशित इन्टरनेशनल एक्सपेडिसन फर ह्यूमान्इटी ओरिएन्टल रिर्सच (International expedition for oriental research) पुस्तकमा मानब जातिको उत्पति हिमाली श्रृङखला -फक्ताङलुङ) र मानसरोबर छेउछाउ भएको उल्लेख गरिएको छ । त्यहाँ उत्पति भएका मानवहरु विकसित अबस्थामा पुगेर चारतिर लागेका थिए । मुन्धुम्मा उल्लेख गरिएको संसारको सृष्टि बारे चाख लाग्दो र बैज्ञानिक दृष्टिकोणसंग मेलखाने धेरै शास्त्रिय मुन्धुमी भाषाहरुको प्रयोग भएको पाइन्छ । युङ्पुङगेन सावाङगेम्बा सिकार गर्न फङदुरा -काँस) चङधो वेक्तुरा चङधो उकालो लाग्छन् । मुन्धुम् अनुसार उस बेलाको माङ्गन तेम्बे -माङहरुको घुमफिर गर्ने ठाउँ- संम्म जग्गा, अहिलेको फक्ताङ्लुङ हिमाल वरिपरि) तिर उकालो लागेको ब्याख्या भएबाट के बुझीन्छ भने अहिले उभिएका पहाड र हिमालहरु अग्लिने क्रम जारी थियो । अहिले जस्तो बिशाल हिमाल पर्बत भएर अग्लि सकेको थिएनन् र नदी किनार तिर काँशका गाँजहरु फुलेको थियो । भू-गर्भशास्त्रीहरु अनुसार हिमाल भूखण्डको निर्माण आजभन्दा करिब साढे १२ करोड बर्षअगाडी उत्तरको लुरेसिया (Laurasia) र दक्षिणको गोण्डवाना ल्याण्ड (Gondwana Land) का रुपमा बाँडिएका जमिनका केवल दुइओटा ठूला भूखण्डहरु साढे ६ करोड बर्षअगाडी आएर बर्तमानका बिभिन्न द्धीपहरुमा बाँडिनु अगाडी बर्तमान नेपालको भूभाग टेथिस सागरको गर्भभित्र लुकेको थियो । -मेहरी दत्ता १९८५-१५-१७) । वर्तमानको दक्षिण एसियाली उपमहाद्धीप सरिसृपहरुको युग अथवा मध्य जीबकल्प (Mesozoic) संम्म
अफ्रीकी महादेशसंग जोडिएको थियो । पछि आएको भौगोलिक हलचलमा समुन्द्रको दक्षिणी पिध पेलिने तर उत्तरको तिब्बती ढालले र्सन नदिने हुँदा समुन्द्र सतह चुलिन्दै गएको थियो । यो परिवर्तनको लहरमा कतिपय जमिनका उच्च भू-भागहरु पानी भित्र डुब्न पुगे र कतिपय सागर भित्रका भू-भागहरु उच्च भूमि वा पहाडका रुपमा उठ्न पुगे ।
यही हलचलकै क्रममा महाद्धिपीय बिस्थापनका कारण अफ्रीकासंग जोडिएको भू-भाग समुन्द्रमा धस्न गयो र उत्तरतर्फभएको टेथिस सागरको भू-भाग माथि उठ्न गई चुरे,महाभारत र कतिपय उच्च पहाडी भू-भागको निर्माण हुन पुग्यो । तिब्बतीय पठार तिर बिशाल ढिक्के नुन खानी हुनुलाई त्यहि समुन्द्रको नुनपानीलाई कारण मानिएको छ । यि बैज्ञानिक तत्थ्य अनुसार आज देखिएका पहाड,हिमालहरु एकै पल्ट निर्माण भएका थिएनन् । समुन्द्री टेथिस अग्लो हुने क्रम संगै त्यहा भएका एक कोषिय जीबहरु पनि पानीको सतहमा आएका थिए । डार्बिनको बिकास बादी सिद्धान्त अनुसार अमिबा बाट जीबहरु र मानब संम्मको बिकास भएको हो । यो बिकास हुने क्रम पहाड र हिमालको अग्लाई सगै एकै साथ हुदै गयो । मुन्धुम्ले पनि यहि बिकास बादी सिद्धान्तकै आधारमा ब्रम्हाण्ड र संसारको सृष्टि जीबहरुको उत्पिति र फक्ताङलुङमा -अहिलेको कुम्भकर्ण हिमालमा) ढुङ्गा माटो द्धारा मुजिङ्ना खेयङनाको जन्म भएको थियो । जीबहरुको उत्पति र बिकास हुने क्रम भई सकेर पनि अहिले देखिएका पहाड र हिमालहरु भने क्रमश अग्लिन्दै जाँदा अहिलेको अबस्थामा पुगेको हो ।
अफ्रीकामा पाइएको "लुसि" भनिने मानब भग्नावशेषलाइ वर्तमान मानवको पहिलो पुर्खा भनेर पश्चिमी अनुसन्धानकर्ताहरुको दाबी रहे पनि "बहुमत मानवशाश्त्रीहरु एसिया क्षेत्र नै मानब उत्पति स्थल हुनु पर्छ" भन्ने निक्र्योलमा एकमत छन् । यो सङ्केतलाई मुन्धुमले बिस्तृत रुपमा वर्णन गरेको छ । इतिहास र संस्कृतिविद् भुवनलाल प्रधान अनुसार "एक करोड बर्षभन्दा अगाडि नै हिमाली भेगको फेदीमा प्रागमानवको प्रादुर्भाब भईसकेको थियो । मुन्धुम् भित्रको यथार्थ नै मिथ हो । मिथकमा वर्णन भएका खाम्जिरी खाम्बोङ्साहरु यही फक्ताङ्लुङ पेन्बेनलुङ वरिपरि उत्पति भएका तागेरा निङ्वाफु माङका संन्तानहरु हुन् जो वास्तविक क्ष्लमष्नभलयगक हुन । याक्थुङ लाजे लिम्बूवान नाममा फेरिनु अघि याक्थुङ लाजेमा सावायेत्हाङ आठ राजाका संन्तानहरुले राज्य गदै थिए । उनिहरुको एउटा बिशेषता के थियो भने हरेक देब देबी र प्रतिष्ठित ब्याक्तिहरुको नाम "य" वर्णबाटै राखिएको हुन्थ्यो । जस्तै याक्थुङबा,येहाङ,युक्पुङगेन,यकलब्यहाङ,येबा,यलम्बाहाङ,युमा,येमा आदी । सम्भवतः उनै सावायेत्हाङका संन्तान दर संन्तानहरु नै मुजिङना खेयङनाका सन्तानहरु हुन । तिनै सु˜सुवेङ ला˜लावेङ वा सु˜सुवालि˜लिम -ढुङ्गा माटोसंगै जन्मिएका मुलबासी) याक्थुङबाहरुलाई नैं आगन्तुक शासकहरुले "सु˜सुवा लि˜मलिम" भन्दा भन्दै लिम्बू भनिएको हुन सक्ने सम्भाब्यता लाई इतिहासकारहरुले स्वीकारेका छन् । तिनै सावायेत्हाङका संन्तानहरुले उक्त मुन्धुम् श्रुति परम्परामा आधारित शास्त्रिय ऐतिहासिक काब्यको थालनी गरेका थिए । येहाङ्को त्यो संसारको सृष्टि,मानब उत्पति कथा, तथा मानब बिकास र धार्मिक एबं सांस्कृतिक श्रृति परम्परालाई एक पुस्ता बाट अर्को पुस्तामा सार्दै ल्याइ रहेका थिए । सदै आएको छ । मुन्धुम्ले वर्णन गरे झैं हिमालमा मानवको उत्पति र बिकास बारे हिमालमा पाइएका शालीग्राम र नबपाषणकालीन ढुङ्गाका हतियारहरु ताप्लेजुङ,इलाम,झापा,सुनसरी,मोरङ,उदयपुर,दोलखा,मुस्ताङ,रामेछाप,सुर्खेत,काभ्रेपलाञ्चोक, ललीतपुर,तनहुँ,कास्की,पाल्पा,दाङ देउखुरी,मकवान र नवलपरासी आदि स्थानमा पाइएका छन् । यी हतियारहरुले के देखाउँछ भने यिनै हिमाल पहाडको आसपास मानवको उत्पति भई नबपाषाणकालीन युगमा यि स्थानहरुमा मानिसहरुको ब्यापक बसोबास भइ सकेको थियो । तर गाउँघरमा आफ्ना हजारौं बर्षअघिका पुर्खाका हात हतियारहरु नचिनेर बज्र ढुङ्गा -सेरिलुङ) लाई पूजा गर्ने साथै औषधीको रुपमा प्रयोग गर्ने चलन रहेको छ । भू-गर्भशास्त्रीहरुको मत अनुसार नेपालका अधिकांस उपत्यकाहरु तलाउका रुपमा थिए । आज भन्दा २ लाख बर्षअगाडी धाद्रा लागी पानी निस्किएर गएको अनुमान गरिएको छ । तिनै समुन्द्रको टेथिस अग्लिएर उपत्यका बनि पानी निस्के पछि बनेको समतल मैदानहरुलाइ मुन्धुम्मा तेम्बे शब्दले पुकारिएको छ । मुन्धुम्मा वर्णन भएका केहि तेम्बेहरुको नाम यस प्रकार छन् । मुरिङला खारिङला तेम्बे,साङ्गरक नु,गरक तेम्बे,चेन्जेनलुङ तेम्बे, चिङ लिङ हारा -हडा) तेम्बे,काप्लिङ तेम्बे,ला,गरिन नामगरीन तेम्बे,मिनु ताखोङ तेम्बे,मिनु तेल्लेङ तेम्बे,मुना तेम्बे,नाखोङलुङ तेम्बे,पुङलिङ तेम्बे,सिंतेम्बे,फेसिङ तेम्बे, इवाहडा तेम्बे,साघोङलुङ तेम्बे खङफोना तेम्बे,माङ्गन् तेम्बे,सुरावेत तेम्बे,खोन्दोप्ला तेम्बे,साजारा तेम्बे,तुङसाबा तेम्बे,लिङघायक तेम्बे जस्ता कैयौं तेम्बेहरुको वर्णन भएका छन । यि वर्णन भएका मुन्धुम्का तेम्बेहरुमा मानब उत्पति र सभ्यताको बिकास भएको बिश्वास गरिन्छ । यसरी मुन्धुम् र भौतिकबादी तत्थ्यमा तारतम्य मिल्नु संयोग मात्र हो वा मुन्धुम् भित्रका अरु तत्थ्य कुराहरु लिखित रुपमा लेख्य हुनु बाँकि नै छ खोजी एबं अनुसंन्धान हुन सके अलङ्कारीक मुन्धुमीभाषाको मुन्धुमको दृष्टिकोण पाठकहरु सामु स्पष्ट हुँदै जाने थियो ।

limbu

ब्लगर टंक सम्वाहाम्फे व्दारा सम्पादित व्लगहरु
-
व्यक्तिगत साहित्य सिर्जना विविध इन्टरनेट व्लग पत्रिका
-
हंगकंकवाट प्रकाशित इन्टरनेट पत्रिका खवर तथा विविध मनोरन्जन
-
लिम्वूवान सम्वन्धि इन्टरनेट व्लग पत्रिका खवर तथा विविध
-
नेपाली लेखकहरुको वैयक्तिक बिवरण इन्टरनेट व्लग पुस्तकालय
-
नेपाली कविताको इन्टरनेट व्लग पत्रिका
-नेपाली साहित्य प्रतिष्ठान हंगकंगको इन्टरनेट व्लग मुखपत्र

limbu vasa

श्रीजङ्गा लिपी


स्पष्ट अक्षरहरु वुझ्नु भएन भने अक्षरहरु माथि पुन क्लिक गर्नुहोस् तव स्पष्ट देखिनेछ